भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित, फ्लाई दुबई लखनउ डाइभर्ड

काठमाडौं- भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ । मध्यान्हदेखि जारी वर्षाका कारण विमानस्थलको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा असर पुगेको हो ।
निरन्तरको वर्षाले विमानस्थलको ‘भिजिबिलिटी’ पनि कम भएकाले कतिपय अन्तरराष्ट्रिय उडान आकासमै फन्को लगाउने ‘होल्ड’ भए भने केही उडान डाइभर्ड गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार विमानस्थलमा अवतरण गर्नै लागेको फ्लाई दुबईले ‘ओभरसुट’ गरेको छ । यो एयरलाइन्स लखनउ डाइभर्ड भएको छ । नेपाल एयरलाइन्सको जहाज पनि होल्डमा परेको जनाइएको छ ।
निरन्तर वर्षा भइरहेकाले अझै पनि विमानस्थलको उडान सामान्य हुन सकेको छैन । अन्तरराष्ट्रिय विमानस्थलमा तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।- नेपाल टेलिभिजनमा समाचार छ ।