धर्म र कर्मको मर्म सेवा (कविता)

पिताम्बर बन्जाडे 
सेवा नै संस्कृति हाम्रो ,
सेवा नै धर्मको जग ।
जे छ आफूसंग त्यही ,
दिई सौजन्यता गर ।।
पर्दैन चारधाम डुल्न ,
चाहिन्न कपुरको धुप ।
सेवामा लुकेको हुन्छ ,
ईश्वरको सक्कली रुप ।।
अधुरो जिन्दगी हाम्रो ,
अपुरा चाहनाहरू ।
मात्रै अमर बनिरन्छन् ,
सेवाका भावनाहरू ।।
यतिउति कमाएँ भन्दै ,
व्यर्थै दम्भ जगाउँछ ।
अन्त्यमा गन्जीको खल्ती ,
अर्कैले टक्टकाउँछ ।।
को देख्छ धन्सारको धान ,
को बुझ्छ मान्छेको मन ?
साँचो सेवा गर्ने मान्छे ,
बनिरन्छ सधै महान् ।।