गिरिजाप्रसाद कोइराला फाउण्डेशन र यूएसएबीच व्यावसायिक रबर खेती अनसन्धान तथा उत्पादनका लागि समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउण्डेशन र इन्स्टिच्युट अफ रबर एण्ड जात्रोफा रिसर्च–नेपाल, (यूएसए) बीच व्यावसायिक रबर खेती अनुसन्धान तथा उत्पादन गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाको उपस्थितिमा इन्स्टिच्युटका कार्यकारी निर्देशक तिलक भण्डारी र फाउण्डेशनको विज्ञान तथा प्रविधि विभागका निर्देशक डा ताराप्रसाद बन्जाडेले आज समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।     
     
दुबै संस्थाले पाँच वर्षमा हजारांै हेक्टर जमीनमा रबर खेती गर्ने, कृषकको जीवनस्तर सुधार गर्ने, रोजगारी सिर्जना गर्ने, युवा विद्यार्थीलाई यस खेतीको अनुसन्धान गराउने र सयौं युवा उद्यमी तयार पार्ने उद्देश्यले छिट्टै काम शुरु गर्ने गरी समझदारी भएको फाउण्डेशनले बताएको छ ।
वर्षमा टायर ट्यूब र रबरजन्य कच्चा पदार्थ आयातमा हुने गरेको करीब रू. ११ अर्बको खर्चलाई कम गरी रबर उत्पादनमा आत्मनिर्भर हुन सकिने सम्भावना रहेको सो अवसरमा जानकारी दिइयो ।     
     
 सो अवसरमा फाउण्डेशनका अध्यक्ष कोइरालाले कोभिड–१९ पछि नेपाल र विश्वलाई आर्थिक, सामाजिक क्षेत्रमा ठूलो संकट उत्पन्न भएको अवस्थामा स्वदेशमै हजारौं युवालाई रोजगारी सृजना गर्न सकिने अवसरको उपयोग गर्ने गरी अमेरिकी संस्थासँग समझदारी भएको बताइन् ।
इन्स्टिच्युटका कार्यकारी निर्देशक भण्डारीले मुलुकमा रबर खेतीको थप अनुसन्धान र व्यावसायिक रुपमा उत्पादन गरी करीब ५०० ओटा रबर उद्योगलाई स्थायी रुपमा स्वदेशमै कच्चा पद्घार्थ उपलब्ध गराउन सकिने बताए ।     
     
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निर्देशनमा विसं २०४९ मंसिरमा गोरखकाली रबर उद्योग लिमिटेडको स्थापना र रबर कृषकहरु समेतको प्रतिनिधत्व रहने गरी नौ सदस्यीय रबर विकास समिति गठन भएको थियो ।
कृषि तथा पशु विकास मन्त्रालयले विसं २०७५ सालमा गठन गरेको कार्यदलको सिफारीसबमोजिम २० हजार ४०० हेक्टरमा झापा, मोरङ, सुनसरी र इलाममा व्यावसायिक खेती हुने निश्चित भएको र अन्य उदयपुर, सप्तरी, मकवानपुर, चितवन, नवलपुर, गोरखा, लमजुङ र तनहुँ गरी आठ ओटा जिल्लामा यसको खेती हुन सक्ने प्रमुख सम्भावना रहेको बताएको छ । रासस