खाँचीकोटको भुजुङेका सम्पुर्ण बस्तीलाई स्थानान्तरण गरिने (भिडियो, फोटो फिचर)
आश्विन ९ गते, २०७७ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
भुजुङ्गे, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको भुजुङे स्थित पहिरोको उच्च जोखिममा रहेको बस्तीको प्रमुख जिल्ला अधिकारी सहितको जनप्रतिनिधीहरुको टोलीले विशेष अबलोकन गरेको छ । सो अबलोकनका क्रममा सम्पुर्ण बस्ती नै स्थानान्तरण गर्नुपर्ने निष्कर्ष टोलीले निकालेको छ ।
बिगतका बर्ष देखिनै त्रासमा रहेको बस्ती असोज ६ गतेदेखि परेको झरिले झनै जोखिममा परेपछि झनै बिकराल अवस्था सृजना भएकोले यतिबेला ८ स्थानिय घर परिवार चन्द्रप्रभा मा .बि .मा बसिरहेका छन् ।
बस्ती अबलोकनपछि स्कुलमा बसेका पीडितहरुलाई सान्त्वना दिदै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बस्ती स्थानान्तरण गर्नुपर्ने र यस बिषयमा पहिले पनि पहल भएको कुरामा आफु जानकार रहेको बताउदै आफुले पहल गर्ने बताए । जिल्ला दैवी प्रकोप उद्दार समितिका प्रमुख समेत रहेका प्र .जि .अ .पौडेलले सुरक्षाका लागी बस्ती सर्ने मानसिकता बनाउन स्थानीयलाई अपिल गरेका थिए ।
यस्तै नगर प्रमुख कमल भुसालले नगरपालिका जनताको जीउ धनको सुरक्षाको लागी तयार रहेको बताउदै आफु सक्दो पहल गर्ने बताए ।
पीडितका पक्षबाट बोल्दै पीडित पुन बहादुर नेपालीले आफुहरु बस्ती सर्न राजी रहेको बताउदै उक्त घरमा जोखिम मोलेर बस्न नसक्ने बताए । आफुहरु बस्तीमा जाने अबस्था नरहेको बताउदै उनले जबसम्म राज्यबाट उचित बस्तिको ब्यबस्थापन गरिदैन तबसम्म आफुहरु स्कुलमा बसिरहने बताए । आफ्नो पनि पसिनाले बनेको स्कुल हो भन्दै बिपत्तिको बेला स्कुलको शरणमा नै रहने उनले बताएका थिए ।
पीडितको भनाई सुनेपछि सान्त्वना दिदै राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काले यो समस्या केन्द्रिय संसदमा पुर्याएर निकास निकाल्न आफु लागि पर्ने बताए।
२०६९ सालमा परेको अविरल वर्षाले जमिन भाँसिएपछि ४९ घर पहिरोको उच्च जोखिममा परेको निष्कर्ष निकाल्दै बस्ती सार्नुपर्ने तत्कालिन जिल्ला दैविक प्रकोप उद्धार समितिले प्रतिवेदन तयार पारेको थियो । तर, ८ वर्ष हुँदापनी बस्ती स्थानान्तरण गर्न कुनै पहल भएको छैन । बिगत तीन दिनदेखि परेको अविरल वर्षाले सन्धिखर्क नगरपालिका ७ खाँचीकोटको भुजुंगेको सिंगो गाउँ नै पहिरोको जोखिममा परेको छ । पहिरो खस्ने क्रम नरोकिएपछि बिहीबार ८ घरपरिवारका ३६ जनालाई स्थानीय चन्द्रप्रभा माध्यमिक विद्यालयमा सारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीले जानकारी दिए ।
पहिरोको उच्च जोखिम भएको भन्दै जिल्ला दैविक प्रकोप उद्दार समितिले यहाँका सबै परिवारलाई अन्यत्र स्थानान्तर गर्न निर्देशन दिएको थियो । जिल्ला प्रशासनमा ०७० पुस २५ मा बसेको बैठकले जोखिमयुक्त क्षेत्रका नागरिकलाई वैकल्पिक ठाउँ पहिचान गरी सुरक्षित बसोवास गर्ने वातवरण सिर्जना गर्न भनको थियो । पहिरोको जोखिम भएका भुजुंगेका पूर्णबहादुर नेपाली, लालकुमारी नेपाली, कृष्णबहादुर नेपाली , भीमबहादुर नेपाली, बिष्णुबहादुर नेपाली, दल्ली नेपाली, बसन्त नेपाली र विन्दु परियारका गरी ८ घरपरिवारका ३६ जनालाई विद्यालयमा बसोबासको व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पौडेलले बताए ।
महत्वपूर्ण कागजातहरु आफन्तकोमा राख्न लगाएर आवश्यक सामान बोकेर विद्यालयमा सुरक्षित स्थानमा उनीहरु आएको चन्द्रप्रभा माध्यमिक विद्यालयका शिक्षक तिर्थराज आचार्यले जानकारी दिए । उनीहरुलाई विद्यालयमा सहज तबरले बस्ने वातावरण मिलाइएको छ । वर्षातको समयमा जमिन भासिने क्रम बढेपछि स्थानीय त्रासमा छन् । २०७० सालमा जिल्ला भू-संरक्षण कार्यालयले स्थलगत निरीक्षण गरेर बस्ती बस्न खतरा रहेको प्रतिवेदन जिल्ला दैविक प्रकोप उद्दार समितिलाई पेश गरेको थियो । बस्ती सार्ने विषयमा छलफल भएपनि स्थानीय एकिकृत बस्तीमा सरेर गाउँनै छाडेर जान मानेका थिएनन् ।
अबलोकनमा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का, सन्धिखर्क नगरपालिका प्रमुख कमल प्रसाद भुसाल, उप प्रमुख ठाकुर बि .क .,रा. ज .मो. जिल्ला अध्यक्ष थम्मन केसी, अखिल नेपाल युवक सँघका जिल्ला कोषाधक्ष बसन्त खड्का, रा ज मो खाँचिकोटका अध्यक्ष दिलदार हुसेन, अर्घाखाँचीडट्कमका केशवराज ज्ञवाली र केशव घिमिरे, वार्ड सदस्य बिष्णु भुसाल, रामलाल खनाल, बसन्ता केसी र रेडक्रस अर्घाखाँचीका पदाधिकारी, सुरक्षाकर्मि, नेपाली सेना लगायतको बाक्लो उपस्थिति रहेको थियो।