पिताम्बर बन्जाडे
टपटप टिपेर चारा ,
भुरुरुरु उड्दै छन् भँगेरा ।
न छ घर न तिनको डेरा ,
के गरेर पाल्दैछन् बचेरा ?
पखपख भँगेरा चरा !
तिमीबाट सिक्नु छ केही कुरा ।।
दयामाया ठूलो छ कुरा ,
प्रकृतिका देवता हुन् चरा ।
मार्नु हुन्न पारेर धरापमा ,
परिने छ बच्चाको सरापमा ।
पखपख भँगेरा चरा !
तिमीबाट सिक्नु छ केही कुरा ।।
न त केही बिगारै गर्याछन् ,
हाम्रो आँगन रमाइलो पार्याछन् ।
कति राम्रा भँगेरा चरा ,
नहाने है ! गुलेली मट्याङ्ग्रा !
पखपख भँगेरा चरा !
तिमीबाट सिक्नु छ केही कुरा ।।
मान्छे चाहीँ धनदौलत जोड्दै छन् ,
तर पनि पुगेन भन्दै छन् ।
न छ घर न तिनको डेरा ,
के गरेर पाल्दैछन् बचेरा ?
पखपख भँगेरा चरा !
तिमीबाट सिक्नु छ केही कुरा ।।