सागर परियार
सन्धिखर्क, अर्घाखाँची असाेज १३, २०७७ । सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जालको आयोजनामा संस्थाहरुको आन्तरिक सुशासन, पारदर्शीता र जवाफदेहितालाई प्रवद्र्धन गर्नका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरिएको छ । सामाजिक सेवा दिवशको सप्ताह व्यापी कार्यक्रमको अवसर पारेर अर्घाखाँची जिल्लामा रहेका नागरिक समाज संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको भेलाले १४ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
प्रतिबद्धता पत्रमा प्रचलित कानुन र संस्थाको विधान बमोजिम संस्थाहरुको नवीकरण, अधिवेशन, साधारण सभा र बैठक समयमा नै सम्पन्न गर्ने, वार्षिक कार्यक्रम र बजेट साधारण सभाबाट पास गराई वार्षिक कार्ययोजना निर्माण र कार्यान्वयन गर्ने, कम्तीमा ६ महिनाको एक पटक समीक्षा बैठक सम्पन्न गर्ने उल्लेख छ । सबै संस्थाहरुको कार्यसमितिमा न्युनतम ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरी कर्मचारीको छनौट, नियुक्तिमा समेत महिला, दलित, जनजाति र पिछडिएको समुदायलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ ।
नागरिक समाज संघ संस्थाहरुको भुमिकालाई पारदर्शी र सुशासन मैत्री बनाउन आफुहरु स्व–नियमनको अभ्यासमा केन्द्रित भएको सुशासन प्रर्बद्धनका लागि जिल्ला स्तरीय नागरिक सञ्जालका संयोजक फर्सुराम पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार अब देखि संस्थाको अघिल्लो कार्यसमितिले गरेका प्रगति, योजना र जिम्मेवारीहरु विधिवत रुपमा बरबुझारथ गर्ने अभ्यास पनि गरिने छ ।
साथै संस्थाहरुले सूचनाको हक अनुसार संस्थागत सूचना तथा तथ्यांङ्कहरुलाई सूचना पाटी, रेडियो, पत्रपत्रिका वा वेभसाइट मार्फत सार्वजनिक गर्ने र भ्रष्टाचार, जातीय भेदभाव, लैंगिक हिंसा र बाल श्रम विरुद्ध शून्य सहनशीलता नीति र संयन्त्र आगामी १ वर्षभित्र निर्माण गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष ठाकुरप्रसाद अधिकारीले संघ संस्थाहरुको दीगोपनामा जोड दिदै आफ्नो क्षमता विकास र नागरिक समाजप्रतिको सकारात्मक धारणा तय गर्नुपर्नेमा जोड दिनुभयो ।
लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य बाबुराम पौडेलले नागरिक समाजले विकासको क्षेत्रमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिमबहादुर जिसी लेकालीले सरकार, नागरिक समाज र बजार एक अर्काका परिपुरक तथा साझेदार रहेको बताउनुभयो ।
कार्यक्रममा सञ्जालका संयोजक फर्सुराम पाण्डेको अध्यक्षता र एकीकृत ग्रामीण विकास समाजका जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठको सहजीकरण रहेको थियो ।