रुसले नेपाललाई कोरोना भाइरसविरुद्धको २ करोड ५० लाख डोज खोप उपलब्ध गराउन तयार

काठमाडौं, असोज १३ । रुसले नेपाललाई कोरोना भाइरसविरुद्धको साढे २ करोड ५० लाख डोज खोप उपलब्ध गराउन सहमति जनाएको छ ।

उक्त परिमाणको खोप नेपाल पठाउन सम्झौता नै भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेको हो ।

रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फण्ड र नेपालको औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच २ करोड ५० लाख डोज रुसी भ्याक्सिन ‘स्पुतनिक–५’ नेपाल ल्याउने सम्झौता भएको, स्वयं फण्डले पनि जनाएको छ ।

फन्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरिल डिमिट्रेभले ट्रिनिटीसँग भएको सम्झौताबाट नेपालका ९० प्रतिशत जनसंख्याका लागि पुग्ने गरी भ्याक्सिन उपलब्ध गराउने बताउनुभयो ।

डिमिट्रेभले ट्रिनिटीलाई धन्यवाद दिँदै भन्नुभएको छ, ‘ट्रिनिटी कम्पनीलाई धन्यवाद ! खोप लानका लागि सम्झौता भइसकेको छ ।’

एसिया, मध्य पूर्व, ल्याटिन अमेरिका, युरोप र सीआईएसका ५० भन्दा बढी मुलुकले ‘स्पुतनिक भी’ को माग गरेकोसमेत जनाइएको छ ।

आरडीआईएफले यसअघि मेक्सिकोसँग ३२ मिलियन डोज, ब्राजिलसँग ५० मिलियन, भारतसँग १०० मिलियन र उज्बेकिस्तानसँग ३५ मिलियन डोज खोपका लागि सम्झौता भइसकेको जनाएको छ ।

११ अगस्टमा, जामिलिया नेशनल रिसर्च इन्स्टिच्युट इपिडिमियोलोजी र माइक्रोबायोलोजीद्वारा विकसित ‘स्पुतनिक भी’ खोप रुसको स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको थियो ।

मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड–१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भएकोसमेत दाबी गरिएको छ ।

४ सेप्टेम्बरमा, ‘स्पुतनिक भी’ पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजा बारेमा ल्यान्सेट जर्नलमा प्रकाशित गरिएको थियो ।

इन्डियन एक्सप्रेसका अनुसार किशोर अधिकारीले रसियन फन्डसँग सम्झौता गर्न पाउँदा उत्साहित भएको बताउनुभएको छ ।

ट्रिनिटी स्पुतनिक परीक्षणको अन्तिम नतिजालाई पर्खेर बसेको छ । चाँडोभन्दा चाँडो नेपाल सरकारले नेपाली जनताको लगि खोप ल्याउन अनुमति दिनेछ विश्वास उहाँको छ ।

यता, स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म खोप ल्याउन कसैले प्रस्ताव नै नगरेको बताउनुभयो ।

उहाँले ५ विज्ञ सम्मिलित समितिको सिफारिस पछि मात्र खोप ल्याउन अनुमति प्राप्त हुने बताउनुभयो ।

साथै उहाँले रुसी खोप नेपाल ल्याउने विषयमा भएको सम्झौताका बारेमा केही जानकारी नभएको बताउनुभयो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले पनि यस विषयमा आफूहरुलाई जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ ।

रमाइलो के छ भने, नेपालमा भ्याक्सिन ल्याउने सम्झौता गरेको ट्रिनिटी फर्मास्युटिकल्स भारतीय कम्पनी हो ।

सन् १९४१ मा स्थापना भई केरलाको त्रिसुरमा मुख्यालय रहेको यो कम्पनीले नेपाली बजारमा पनि औषधि बिक्री गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

संसारभर थुप्रैं कम्पनीहरु कोरोना भाइरसविरुद्धको खोप बनाउने होडमा छन् । मुख्यगरी, रुस, चीन, अमेरिका र अक्सफोर्ड विश्वविद्यालयबीच कसले पहिला खोप बजारमा लैजाने भन्ने प्रतिष्पर्धा भइरहेको छ ।

अरु देशले तेस्रो चरणको परीक्षण गरिरहँदा रुसले भने तेस्रो चरण परीक्षण नै नगरी आफ्नो खोपलाई गत साउनमा अनुमति दिएको थियो । इमेजच्यानलमा समाचार छ ।  

नेपाललाई २ करोड ५० लाख डोज कोरोना खोप उपलब्ध गराउन रुस तयार, सरकार भन्छ–थाहा छैन