अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले आफनो हिस्सामा रहेको नगर्नो र काराबाख क्षेत्र तुरुन्त खाली गर्न अरमेनियालाई चेतावनी दिएको छ ।
अरमेनिया र अजरबैजानबीच सीमा विवादका कारण दुई देशका सेनाबीच झडप चरम उत्कर्षमा पुगेको बेला राष्ट्रपति अलियेभले यो चेतावनी दिनुभएको हो ।
गत सातादेखि विवादित क्षेत्रका लागि सुुरु भएको यी दुइ देशबीचको संघर्षमा हालसम्म दुवैतर्फबाट एक सय भन्दा बढीको मृत्यु भइसकेको छ भने २० भन्दा बढी घाइते भएका छन् ।
राष्ट्रपति अलियेभले सो क्षेत्र अरमेनियली कब्जाबाट मुक्त गर्न जस्तोसुकै कदम चाल्न आफूहरु पछि नपर्ने समेत बताउनुभएको छ ।
विवादकै बीच जारी संघर्षमा दुवै देशको तर्फबाट ट्यांक, हेलिकोप्टर र ड्रोनबाट समेत आक्रमण भइरहेको छ । अजरबैजानलाई टर्कीको समर्थन छ भने अरमेनियालाई रुसले साथ दिएको छ ।
दशकौंदेखि विवादको रुपमा रहेको अजरबैजानले आफ्नो हिस्साको रुपमा अन्तर्राष्ट्रिय मान्यता पाइसकेपनि अर्मेनियालीहरुको नियन्त्रणमा रहेको छ ।
यसअघि यही क्षेत्रलाई लिएर दुई देशबीच गत जुलाइमा भएको झडपमा १६ जना मारिएका थिए ।
सो क्षेत्र विश्व बजारमा तेल र प्राकृतिक ग्यास र पाइपलाइनहरुको करिडोरको रुपमा रहेको बताइएको छ । एजेन्सी