भारतमा मल्टिप्लेक्स, थिएटर तथा सिनेमा, स्विमिङ पुल पनि आगामी १५ अक्टोबरदेखि खुल्दै

भारत सरकारले कोरोना भाइरस (कोभिड– १९) नियन्त्रणका लागि गरेको लकडाउन क्रमशः खुलाउँदै लगेको छ । लामो समयसम्म लकडाउन रहिरहँदा नागरिकको जीवनयापनमै समस्या भएपछि भारतले विभिन्न चरणमा लकडाउन खुलाउन थालेको हो । 
यद्यपि भारतमा कोरोना महामारी नियन्त्रणभन्दा कोसौँ टाढा छ । हरेक दिन करिब एक लाख हाराहारी नयाँ संक्रमित थपिइरहेका छन् । नयाँ संक्रमित बढिरहे पनि सर्वसाधारणको मागअनुसार स्वास्थ्य मापदण्ड अपनाएर आगामी १५ अक्टोबरदेखि थप नयाँ क्षेत्र पनि खुल्ने भएका छन् । यसअघि यातायात, रेल सेवा, बजार, उद्योगधन्दा खुलिसकेका छन् । सरकारको निर्णयअनुसार १५ अक्टोबरदेखि इन्टरटेन्मेन्ट क्षेत्र र पार्क ५० प्रतिशत क्षमतासहित खुल्ने भएका हुन् । यी दुवै क्षेत्रमा क्षमताको ५० प्रतिशत दर्शकले मनोरञ्जन लिन पाउनेछन् । 
सरकारले अनलक–५ को गाइडलाइनअनुसार कार्य गर्नु भनेको छ । पछिल्लोपटक भन्दा अनलक– ५ मा धेरै राहत प्रदान गरेको महसुस सर्वसाधारणले गरेका छन् । सरकारले मल्टिप्लेक्स खुल्ने सूचना जारी गरेसँगै बलिउड क्षेत्रमा खुसी छाएको छ । उनीहरू यो क्षेत्र पुनः चलायमान हुने विश्वासमा छन् । 
मल्टिप्लेक्स, थिएटर तथा सिनेमामा कुल क्षमताको ५० प्रतिशत मात्र दर्शक राख्न पाइनेछ । यसका लागि सरकारले एसओपी जारी गर्नेछ । बलिउडका नायक अभिषेक बच्चनले अहिलेसम्मकै खुसीको समाचार सुनेको जनाएका छन् । ‘सम्भवतः यो साताकै सबैभन्दा राम्रो समाचार मैले सुन्न पाएँ, अब मल्टिप्लेक्स खुल्ने भएको छ,’ अभिषेकले बुधबार राति ट्विटरमा लेखेका छन् ।
यो वर्ष थिएटरमा रिलिज भएको अन्तिम फिलिम नै इरफान खानको अंग्रेजी मिडियम थियो । यो १३ मार्चमा रिलिज भएको थियो । गत वर्ष बलिउडमा दुई सय ५० फिल्म रिलिज भएका थिए भने पाँच हजार ६ सय करोड भारुको व्यापार भएको थियो । १९ वटा फिल्मले एक अर्ब भारु कमाएका थिए । सन् २०२० मा कोरोना महामारी सुरु भयो । 
मार्चको दोस्रो सातासम्म दर्शक हलमा पुगेका थिए । त्यसयता डिजिटल मिडियममा दर्शकले फिल्म हेर्दै आइरहेका छन् । तर, दर्शकले डिजिटल फिल्म हेर्न त्यति रुचाएका छैनन् ।
स्विमिङ पुल पनि खुल्दै
सरकारले खेलाडीको प्रशिक्षण तथा स्विमिङ पुलसमेत खुलाउने तयारी गरेको छ । प्रशिक्षण तथा स्विमिङका हकमा खेलकुद मन्त्रालयले एसओपी जारी गर्नेछ । स्कुल तथा कोचिङ संस्थाको हकमा राज्य सरकारसँग अनुमति लिनुपर्नेछ । यसमा परिवारको मञ्जुरी हुनुपर्छ । यदि परिवारले आफ्ना बालबच्चालाई विद्यालय पठाउन नचाहे त्यसमा दबाब कसैले दिन पाउनेछैन । 
व्यापार–व्यवसाय पूर्ण रूपले सञ्चालन गर्न अर्थ मन्त्रालयले छिटै गाइडलाइन जारी गर्ने भएको छ । स्कुल, कोचिङ क्लास र शैक्षिक संस्था खुलाउन राज्य सरकारले १५ अक्टोबरमा एसओपी बनाउनेछ । अनलाइन कक्षा लिइराखेका विद्यार्थीले अभिभावकको निर्णयअनुसार चल्नुपर्ने हुन्छ । सरकारले सामाजिक, शैक्षिक संस्था, सांस्कृतिक, धार्मिक, राजनीति समारोहमा सयजनासम्म बस्न पाउने नियम बनाएको छ । यो संख्याभन्दा बढी भए तत्कालै प्रशासनिक कारबाही हुनेछ ।
नयाँ गाइडलाइनअनुसार अवस्था हेरी दुई सय जनासम्म समारोहमा जमघट हुन पाउनेछन् । यद्यपि सरकारले अनलक–५ मा सहुलियत दिए पनि महाराष्ट्रमा ३१ अक्टोबरसम्म लकडाउन चल्नेछ । तर, महाराष्ट्रले ५ अक्टोबरदेखि होटेल, रेस्टुराँ तथा बार ५० प्रतिशत खुलाउने तयारी गरेको छ ।
कर्णाटकमा १५ अक्टोबरसम्म स्कुल र कलेज बन्द रहनेछन् । यद्यपि सरकारले बिस्तारै लकडाउन खुकुलो बनाउने निर्णय गरे पनि ठूलो समस्या स्कुल तथा कलेज नै हो । गृह मन्त्रालयले सम्बन्धित राज्यका स्कुल तथा कलेजको व्यवस्थापनसँग वार्तालाप गरिरहेको छ ।
कोभिड– १९ को समयमा विद्यार्थीलाई कलेज वा स्कुल जानैपर्ने दबाब दिन नहुने गृह मन्त्रालयको धारणा छ । गृह मन्त्रालयले अनलाइन कक्षा नै यो समयमा प्रभावकारी भएको दाबी गरेको छ । यसअघि अनलक–४ अनुसार स्कुल, कलेज तथा शैक्षिक संस्था ३० सेप्टेम्बरसम्म बन्द रहने बताइएको थियो । 
-एजेन्सी