अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा बनाउने प्रस्ताव पेश गरिएसँगै अर्घाखाँची जिल्लामा खुशीयाली छाएको छ।
दाङको देउखुरीमा प्रदेश ५ को स्थायी राजधानी बन्ने भएपछि अर्घाखाँची जिल्लाका शितगंगा नगरपालिका, सन्धिखर्क, भुमिकास्थान नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी र छत्रदेव गाउँपालिकाका स्थानियबासीहरुले खुशी व्यक्त गरेका छन् ।
अर्घाखाँचीका केही थोरै जिल्लाबासीले विरोध गरेपनि शितगंगा गाउँपालिका छुने गरी दाङको देउखुरीमा प्रदेश ५ को स्थायी राजधानी हुनेमा लगभग ८५ % अर्घाखाँचीबासीको समर्थन रहेको अनुमान गरिएको छ । अर्घाखाँचीबासीले दाङको देउखुरीमा प्रदेश ५ को स्थायी राजधानी हुने समाचार आएपछि सामाजिक सन्जालमा खुशीयाली व्यक्त गरेका देखिन्छन् । यतिबेला सन्धिखर्क लगायत जिल्लाभर नयाँ राजधानीको चहलपहल छ ।
उता प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको शुक्रबारको निर्णयअनुसार प्रदेशको नामाकरण र अर्घाखाँचीको शितगंगा गाउँपालिका, दाङको गरुडा र राप्ती गाउँपालिकामा राजधानी रहने गरी भालुवाङमा स्थायी राजधानीको प्रस्ताव पेश गरेका थिए।
मन्त्री केसीले प्रदेश सभामा दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर देउखुरीमा प्रदेशको राजधानी र नामकरण लुम्बिनी राख्ने प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको हो।
नेविसंघले प्रदेश सभा अगाडि टायर बालेर विरोध जनाएको छ। अहिले पनि नेविसंघका कार्यकर्ताले बुटवलमा प्रदर्शन गरिरहेका छन्।
त्यस्तै बुटवल ट्राफिक चोकमा कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नम्बरको गाडी तोडफोड भएको छ। आन्दोलनरत समूहले गाडी तोडफोड गरेको स्थानीयले जनाएका छन्।
गाडी तोडफोड भएलगत्तै प्रहरी पुगेको कारण गाडीमा धेरै ठूलो क्षति हुन नपाएको बताइएको छ।
प्रदर्शन हुन थालेपछि बुटवलमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
प्रदेश सरकारले राजधानीको विषय निर्णय गरेसँगै बिहानैदेखि बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको हो।
आज बिहानै नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश प्रमुख तथा प्रमुख जिल्ला अधिकारीको बैठक बसेको थियो। राजधानीको विषय टुंगो लागेपछि हुन सक्ने आन्दोलन र असन्तुष्टिलाई नियन्त्रण गर्न बाहिरी जिल्लाबाट समेत प्रहरी झिकाइएको स्रोतले जनाएको छ।