कोरोना संक्रमण, चाडवाड लक्षित लकडाउन र औचित्य


दीपक भूसाल 
नेपाल सरकारले जनतालाई गंभीर विरामी भएमात्र अस्पताल आउन भन्नु र अस्पतालहरुले विरामी भर्ना लिनमा आलटाल गर्नु दुवैपक्षको गंभीर लापरवाही हो । यतिवेला अस्पताल र सरकार मिलेर नै जनस्वास्थ्यमा खेलेको नाजायज भूमिकाले भविष्यमा नराम्रो परिणाम आउने निश्चित नै छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालय वेलावेलामा जनताले स्वास्थ्य मापदंड पुरा गरेनन् भनेर कहिले संक्रमण रोग ऐन वमोजिम कारवाही गर्ने त कहिले देशभर लकडाउन गर्नुपर्छ भनेर जनतालाई चेतावनी दिने गर्दछ तर जनता गरिवी तथा वेरोजगार कै भोकै मर्ने ख़तरा तर्फ भने ध्यान दिने विषयमा अनविज्ञ देखीन्छ ।
आज विश्वब्यापि महामारी कोरोना संक्रमणले विश्व अर्थव्यवस्था तहस-नहस पारिरहेको अवस्था छ । विश्वभर करोड़ौ संक्रमित भईरहदा लाखौको ज्यानै लिएको समयमा नेपालको अवस्थामा पनि दिनानुदिन वृद्धि भईरहेको छ । वास्तविक गरिव दुखी नेपाली जनतालाई कोरोना संक्रमण ले भन्दा भोकले मर्ने ख़तरा वढी छ तर नेपाल सरकारले स्वास्थ्य समस्या भन्दा पनि नेतानिकट ठेकेदार पोस्नमा व्यास्त छ ।
नेपाल सरकारले कोरोना नियन्त्रण कै लागी भनि लामो समय देशभर लकडाउन गर्यो त्यो स्वागत योग्य नै थियो तर जनतालाई राहत दिनमा सरकार पुर्ण असफल नै रहयो । जसको परिणाम लकडाउन अवज्ञा समेत हुने वातावरण वनाउन जनतालाई वाध्यता भएपछि सरकारले लकडाउन अन्त्य गरेको जनाएको छ । 
काठमाण्डौका सवै सरकारी अस्पताललाई कोरोना विशेष अस्पताल वनाउने घोषणा गरेको सरकारले यता फेरी नेपालीहरुका महान पर्व दशै तिहार नजिकिएको समयमा लकडाउनको तयारी गरी रहेको छ । सरकारले तत्काल लकडाउन गर्नुभन्दा चाडवाडको समयमा गरिने लकडाउन कति प्रभावकारी हुनसक्छ भन्ने विषयमा गहिरो अध्ययन गर्न जरुरी छ । 
वास्तविक दैनिक गरिखाने मज़दूर लाई सरकारले राहत नदिई घरमा थुनेर भौकैराखी मार्ने हो भने लकडाउनको अर्थ छैन । यो समयमा कोरोना संक्रमण सर्वत्र फैलिएको अवस्था छ । जनताले आ-आफ्नो ठाउमा सचेत रहेका भएता पनि दिनानुदिन कोरोना संक्रमणको दर वढ्नु दुखद हो । चाडवाड मनाउने सन्दर्भमा अन्तराष्ट्रीय स्वास्थ्य मानदण्ड अपनाएर सचेत हुन जरुरी छ । 
(लेखक – नेपाल पत्रकार महासंघ काठमाण्डूका सदस्य तथा अर्घाखाँची डटकम् भ्वाईस व्युरो हुनुहुन्छ ।)