कोरोनाका कारण सुनसरी र ललितपुरमा थप पाँच जनाको मृत्यु, भर्ना नलिदाँ धरानका संक्रमितको अस्पताल बाहिर निधन

काठमाडौं/सुनसरी । कोरोना संक्रमणका कारण थप पाँच जनाको मृत्यु भएको छ । सुनसरीको धरानमा चार जना र ललितपुरमा एक जना गरी पाँच जनाको मृत्यु भएको हो ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।
इटहरी उपमहानगरकी ७५ वर्षिया महिला र धरान उपमहानगरपालिका–९ का ४४ वर्षिया महिला तथा तेह्रथुमका ३१ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको वीपी प्रतिष्ठान धरानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै धरान–९ कै ५८ वर्षिय पुरुषलाई प्रतिष्ठानले भर्ना लिन अस्वीकार गरेपछि प्रतिष्ठानको कोभिड अस्पताल बाहिर मृत्यु भएको हो ।
पटक पटक संक्रमित पुरुषलाई भर्ना गर्न अनुरोध गर्दासमेत प्रतिष्ठानका चिकित्सकहरुले ती पुरुषलाई भर्ना नगरेको धरान– ९ का वडाअध्यक्ष रत्न कट्वालले बताउनुभयो ।
यता ललितपुरको किस्ट अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।
ललितपुर इमाडोलका ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको किस्ट अस्पतालले जनाएको छ । उनलाई यही असोज २० गते भर्ना गरिएको थियो ।
उपचारको क्रममा २१ गते पोजेटिभ रिपोर्ट आएको थियो । उनको छातीमा पानी जमेको समस्या थियो । इमेजखबरमा समाचार छ ।