काठमाडौं । निर्वाचन आयोगले सरकारसँग स्थानीय तहमा रिक्त पदको संख्या र स्थानको विवरण माग गरेको छ ।
आयोगको मागअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नाम उपलब्ध गराउन सबै जिल्ला समन्वय समितिलाई पत्राचार गरेको हो ।
मन्त्रालयले असोज मसान्तसम्म रिक्त रहेका स्थानीय तहको पदको सूची तीन दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको छ ।
सहज भएको खण्डमा उपनिर्वाचन गराउन तयारी अवस्थामा रहन सूची मागिएको आयोगले जनाएको छ ।
आयोगले रिक्त पदको विवरण मागेपछि यसअघि भदौ २३ गते पत्र लेख्दै मन्त्रालयले विविध कारणले रिक्त पदाधिकारीको विवरण माग गरेको थियो ।
तर समयमा पदाधिकारीको विवरण नपठाएपछि पुनः तीन दिनभित्र पठाउन मन्त्रालयले ताकेता गर्दै पत्र पठाएको हो ।
मन्त्रालयले रिक्त रहेको पद, रिक्त भएको मिति र रिक्त हुनाका कारण उल्लेख गरेर विवरण पठाउन पत्राचार गरेको छ ।
सरकारले यसअघि रिक्त पदाधिकारीको विवरण संकलन गरेर गत मंसिरमा रिक्त भएका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका पदाधिकारीको उपनिर्वाचन गरेको थियो ।
दाङ र भक्तपुरमा प्रदेशसभा तथा कास्कीमा प्रतिनिधिसभाको निर्वाचन गरिएको थियो ।
धरान उपमहानगरपालिकाका प्रमुखसहित तीन गाउँपालिकाको अध्यक्ष र एक उपाध्यक्ष तथा ४३ वडाध्यक्षका लागि उक्त उपनिर्वाचन भएको थियो ।रासस