काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयको बैठक बोलाउनुभएको छ ।
अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाउन नमानेपछि दाहालले शुक्रबार दिउँसो ३ बजेका लागि सचिवालयको बैठक बोलाउनुभएको हो ।
पछिल्लो समय नेकपाभित्र दुई अध्यक्षबीच विवाद चर्किएको छ । बैठक पार्टी कार्यालय धुम्बाराही दिउँसो ३ बजे बस्ने प्रचण्डको सचिवालयले जनाएको छ।
बिहीबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँगको भेटमा दाहालले सचिवालय बैठक बोलाउन माग गर्नुभएको थियो ।
दाहालले राखेको माग प्रधानमन्त्री ओलीले ठाडै अस्विकार गरेपछि दाहालले आज सचिवालय बैठक बोलाउनुभएको हो ।
ओली निकट स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री ओली र उहाँ पक्षका सदस्यहरू उपस्थित नहुने बताइएको छ ।
नेकपामा दाहाल पक्षमा बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, बामदेव गौतम छन् भने ओली पक्षमा इश्वर पोखरेल, विष्णु पौडेल छन् । रामबहादुर थापा बादल तटस्थ देखिएका छन् ।
बिहीबार दुई अध्यक्ष बीचको भेट निकै तिक्ततापूर्ण भएको बालुवाटार स्रोतले जनाएको छ । अध्यक्ष दाहालले पनि अब वार्ताकै लागि भनेर बालुवाटार नजाने बताउनुभएको छ । इमेजच्यानलमा समाचार छ ।