अर्घाखाँचीमा सुरक्षाका मापदण्ड अवलम्बन गरेर कक्षा ११ को परीक्षा शुरु

अर्घाखाँची आवासीय माध्यमिक विद्यालयमा पनि पूर्ण स्वस्थ्य सतर्कता सहित कक्षा ११ को नियमित, आंसिक र ग्रेड वृद्धि तर्फको वार्षिक परीक्षा आज देखि सुरु भएको छ । 
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका विभिन्न विद्यालयमा कोरोना भाइरस महामारीबिच स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्बन गरेर कक्षा ११ को परीक्षा शुरु भएको छ । 
राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको अनुकूलतामा परीक्षा सञ्चालन गर्न भनेपछि अर्घाखाँची जिल्लाभरका  विद्यालयमा कक्षा ११ को परीक्षा सुरु गरिएको हो । आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ को परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णयपछि विद्यालयले परीक्षा सञ्चालन गर्न थालेका हुन् ।
कोरोना भाइरसको जोखिमबाट बच्नका लागि स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा सुरु गरिएको जिल्लाभरका माविका प्रधानाध्यापकले जानकारी दिएका छन् । उनिहरु भन्छन्; सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अपनाएर परीक्षा सुरु गरेका हौँ, परीक्षा दिन विद्यालयमा पुगेका विद्यार्थीलाई स्वास्थ्य तथा सुरक्षाका सबै प्रक्रिया पूरा गरेर परीक्षा हलमा प्रवेश गराइन थालिएको हो ।’
वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि–२०७७ अनुसार विद्यालयले कक्षा ११ को परीक्षा सुरु गरेको जनाएका छन् । अर्घाखाँचीका केही विद्यालयमा परीक्षा सुरु भइसकेको छ भने केही विद्यालय परीक्षाको तयारीमा रहेको जानकारी आएको शिक्षा विकास तथा समन्वय एकाइ अर्घाखाँचीले जानकारी दिएको छ । 
उता राष्ट्रिय परीक्षा बोर्डले मङ्सिर १२ गतेभित्र सबै विद्यालयलाई कक्षा ११ परीक्षा गरिसक्न निर्देशन दिएको छ ।