अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. ९ सिद्धाराको वार्ड कार्यालय भवन करिब ३६ लाखको लागतमा निर्माण सम्पन्न भएको छ ।
नगरपालिकाको ३५ लाख ८४ हजार ७ सय ७९ रुपैया ८४ पैसाको बजेटबाट आर.सी.सी. एक तले भवन निर्माण भएको वडाध्यक्ष भिम बहादुर केसीले बताउनु भयो ।
नवनिर्मित भवनमा प्रशासनिक हल, बैठक कक्ष, शौचालय सहित आवश्यक संरचना निर्माण गरिएको उहाँले बताउनु भयो । अब छिट्टै नवनिर्मित कार्यालय भवन सञ्चालनमा ल्याउने तयारी भईरहेको वडाध्यक्ष केसीले जानकारी दिनु भयो । भवन बनाउन शितगंगा ९ करमगैराका तेज बहादुर खनालले ३ कठ्ठा जमिन निःशुल्क उपलव्ध गराउनु भएको थियो ।
भवन निर्माणको ठेक्का सूर्योदय निर्माण सेवाका निर्माण व्यवसायी अनन्त कुमार खड्कालाई परेको थियो । वि.स. २०७६ माघ २९ गते सम्झौता भएको उक्त भवन २०७७ जेठ ३० गते सम्पन्न हुनुपर्नेमा कोभिड-१९ का कारण लकडाउन हुँदा पुन: म्याद थपिएको हो ।
यस अघि शितगंगा ९ को अर्को वडा कार्यालय लौरीमा सम्पन्न भई सकेको छ । भौगोलिक रुपमा ठुलो क्षेत्रफलमा रहेको वडाको तल्लो क्षेत्रमा आफ्नै भवन नहुँदा दैनिक कार्य सञ्चालनमा समस्या भोग्नुपरेको वडाध्यक्ष केसीले बताउनु भयो ।
वडा कार्यालय सम्पन्न संगै अनुगमन समेत गरिएको छ । शितगंगाका प्रमुख प्रशासकिय अधिकृत प्रेम केसीको नेतृत्वमा गएको अनुगमन टोलीले भवनको अनुगमन तथा मुल्याङ्कनको कार्य गरेको छ । साथै गोही पाईने बराहदह एवं केरा खेतीको समेत अनुगमन गरिएको थियो ।
जस टोलीमा वडाध्यक्ष भिम केसी, योजना शाखा प्रमुख नुमलाल भुसाल, ईन्जिनियर नारायण पाण्डे, शितगंगा ९ का वडा सदस्य खुम बहादुर लुईचे, सचिव हेमन्त कुमार भट्टराई, प्राविधिक सोनम चौधरी, जनता आधारभूत विद्यालयका प्र.अ. पूर्ण बहादुर केसी लगाएतको उपस्थिति रहेको थियो ।