अर्घाखाँचीमा छठपछि सबै विद्यालय संचालनमा आउने

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा छठपछि विद्यालय संचालनमा आउने भएका छन् । 
जिल्लामा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड कडाइका साथ पालना गरेर विद्यालय खोल्ने भएको हो ।
कोभिड–१९ का कारण गएको चैतदेखि शिक्षालय बन्द छन् ।
विद्यालय खोलेपछि पनि भौतिक दूरी भने कायम राख्नुपर्ने र शिक्षक तथा विद्यार्थीहरूले अनिवार्य मास्क लगाउनुपर्ने छ ।  गत चैतदेखि वन्द भएका अर्घाखाँचीका केही विद्यालयले असार १ गतेदेखि वैकल्पिक माध्यम भन्दै अनलाइन कक्षा संचालन गरेका थिए । तर, यो प्रभावकारी हुन नसकेको गुनासो छ।
अर्घाखाँचीका केही विद्यालयमा आइसोलेसन सेन्टर तथा क्वारेन्टिन बनाइएएको थियो । ति सबै बन्द गरिएको छ । यस्तै विद्यालय निर्मलीकरण गरी पठनपाठनका लागि सुरक्षित बनाईने छ ।
सुरक्षाका लागि फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवतजावत गर्न सक्ने कक्षाकोठालगायतका पूर्वाधार, स्वास्थ्य तथा सरसफाइका लागि साबुन, पानी, सेनिटाइजर तथा विद्यालयमा आउनेहरूका लागि तापक्रम लिने व्यवस्था गर्ने र भौतिक दूरी मिलाई बस्ने, शिक्षक, अनिवार्य मास्क लगाउने र खाजा व्यवस्थापन गर्नेलगायतका गरिने छ । 
उता लामो समयदेखि विद्यालय बन्द गर्दा शैक्षिकसत्रमा समेत असर पर्ने भएपछि मंसिर अन्त्यदेखि विद्यालय खोल्ने वातावरण तयार गर्न शिक्षा तथा मानवस्रोत विकास केन्द्रले कार्यढाँचा तयार गरेको छ । केन्द्रले तयार गरेको कार्यढाँचालाई मन्त्रालयले छलफल गरी पुनः संशोधन गर्न शुरु गरेको छ ।
मन्त्रिपरिषदको असोज २२ गतेको वैठकले कोरोना जोखिम नरहेका स्थानीय तहमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड लागू गरी कक्षा चलाउन सकिने भनेपछि शिक्षा मन्त्रालयले यसबारे कार्यढाँचा बनाउन थालेको थियो। कोभिड–१९ का कारण बन्द रहेका शिक्षालय सञ्चालन गर्न सक्ने अधिकार स्थानीय तहको तोकिएको छ । संक्रमणको अवस्था हेरी विद्यालय खोल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यढाँचा तयार गरेको छ । असोजमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको थियो । सोहीअनुसार अवस्था हेरेर विद्यालय खोल्न सक्ने मन्त्रालयले जनाएको छ ।
विद्यालय खोल्नु १५ दिनअघि विद्यार्थीलाई जानकारी गराउने, विद्यालयमा निर्मलीकरण गर्ने, बालबालिका, शिक्षक तथा विद्यालय कर्मचारीहरूमा स्वास्थ्यसम्बन्धी कुनै समस्या आएमा वा कोभिड–१९ का लक्षणसँग मिल्दा जुल्दा लक्षणहरू देखापरेमा तत्काल अभिभावक वा घरपरिवारलाई जानकारी गराउने, महामारीको जोखिममा रहेका बालबालिकालाई नजिकको स्वास्थ्य केन्द्रमा जँचाएपछि मात्र विद्यालयमा आउने गरी पहिले नै सूचित गर्ने र विद्यालयमा ज्वरो परीक्षण गर्ने व्यवस्था गर्ने कार्यढाँचामा उल्लेख छ ।
प्रअ, शिक्षक, अभिभावक, कर्मचारी, चिकित्सक, मनोसामाजिक परामर्शदाता, अस्पताल, एम्बुलेन्सको सम्पर्क नम्बरसहितको विवरण राख्ने, भविष्यमा संक्रमण, महामारी वा अन्य कुनै कारणवश हुन सक्ने सम्भावित विद्यालय बन्दका सम्बन्धमा मानसिकरूपमा तयार रहने गरी सचेतीकरण गर्ने, अपाङ्गता भएका बालबालिकाका अभिभावकलाई परामर्श दिने व्यवस्था मिलाउनुपर्नेछ ।
त्यसै गरी फरक समयमा कक्षा वा तह सञ्चालन गर्ने, खुल्ने तथा कक्षा सञ्चालनको अवधि र घन्टी छोट्याउने, अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थीलाई पहिले, जोखिम र सहजतालाई हेरी कक्षा शुरु गर्ने, कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरु कक्षा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने, कक्षाका केही विद्यार्थी कुनै दिन वा समय र बाँकी विद्यार्थी अर्को दिन वा समयमा सञ्चालन हुने गरी पालैपालो कक्षा सञ्चालन गर्ने, हप्तामा केही दिन, दिनमा केही घण्टा सञ्चालन गर्नेलगायतका विकल्प तयार पारिएको छ ।
सोही विकल्पलाई आधार मानेर कक्षा सञ्चालन गर्न सक्ने व्यवस्था स्थानीय तहले गर्नुपर्नेछ । विद्यालय सञ्चालन गर्नुपूर्व विद्यालयमा पानी, स्वास्थ्य तथा सरसफाइ गर्ने, विद्यालय आएपछि हात धुने, खोकी लाग्दा वा हाच्छिउँ आउँदा मुख छोप्ने, सुरक्षाका उपकरण प्रयोग गर्ने र उपकरणको सरसफाइ गर्न सचेतीकरण गर्ने र घरमै त्यसको अभ्यास गराउने व्यवस्था गर्नुपर्ने कार्यढाँचामा उल्लेख छ ।
विद्यालय प्रशासनले शिक्षक, विद्यार्थी र कर्मचारीको भौतिक दूरी कायम हुने गरी कक्षाकोठा, शौचालय, पिउने पानी राख्ने क्षेत्रमा एक मिटरको दूरीमा गोलो घेरा बनाउने र सोको पालना गर्न आचारसंहिता तयार गर्नुपर्नेछ ।
कार्यढाँचा स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य संस्थामा पु¥याउने र स्वस्थ नभएसम्मका लागि विद्यालयमा नआउन सूचित गर्ने, न्यूनतम १ मिटरको भौतिक दूरी कायम हुने गरी कक्षाकोठामा विद्यार्थीहरूको बसाइ व्यवस्थापन गर्नुपर्ने, सवारीसाधनले ५० प्रतिशत मात्रै विद्यार्थी बोक्ने, अर्कोपटक विद्यार्थी बोक्दा सवारीसाधनलाई पूर्णरुपमा निर्मलीकरण गर्नुपर्ने व्यवस्था छ ।