हङकङका प्रजातन्त्रवादी सांसदले सामूहिक राजीनामा गरेकामा चीनद्वारा निन्दा

चीन प्रशासित हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएकामा चिनियाँ नेतृत्वले निन्दा गरेको छ ।
चिनियाँ नेतृत्वलाई नै चुनौती दिने गरी एकाएक दिइएको राजीनामाप्रति चीन सरकारले भत्र्सना गरेको हो ।
चीनले चार प्रजातन्त्रवादी सांसदलाई पदबाट हटाउन बाध्य गरेपछि उक्त कदमको विरोधमा बुधबार १५ जना प्रजातन्त्रवादी सांसदले सामूहिक राजीनामा दिएका थिए । हङकङको संसदको ७० मध्ये १९ जना प्रजातन्त्रवादी सांसद छन् ।
बेइजिङले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था पारित गरेलगत्तै हङकङका विपक्षी प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका हुन् ।
चीनको हङकङ तथा मकाउ सम्बन्ध कार्यालयले बिहीबार प्रजातन्त्रवादी सांसदहरुको सामूहिक राजीनामाप्रति भत्र्सना गरेको हो । केन्द्रीय सरकारविरुद्धको कदमका रुपमा चीनले ब्याख्या पनि गरेको छ ।
उक्त कार्यालयका प्रवक्ताले सांसदहरुको यो कदम विपक्षीलाई उत्तेजित पार्ने र विदेशी हस्तक्षेप निम्त्याउने सोचका साथ गरिएको भए त्यो गलतसिद्ध हुने चेतावनी पनि दिएका छन् ।
चीनले पछिल्ला दिनमा हङकङको स्वतन्त्रता सीमित गर्न एकपछि अर्को कानुन बनाउन थालेपछि त्यहाँ विपक्षीहरुबाट प्रतिरोध भइरहेको छ भने सरकार शक्ति प्रयोगमा जुटेको देखिन्छ ।
बेलायतबाट चीनलाई हङकङ हस्तान्तरण गर्दा गरिएको सम्झौता विपरित बेइजिङको कम्युनिष्ट सत्ताले अनेकन कानुन लाद्न थालेको आरोप चीनमाथि लाग्ने गरेको छ । एजेन्सी