अशोक खनाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा आयुर्वेद स्वास्थ्य केन्द्रले धन्वन्तरी जयन्ती एवं २२ औ राष्टिय आरोग्य दिवस मनाएको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवसको अवसर पारेर आयुर्वेद स्वास्थ्य केन्द्र सन्धिखर्कको आयोजनामा विभिन्न कार्यक्रम गरी शुक्रबार धन्वन्तरी जयन्ती एवं २२ औ राष्टिय आरोग्य दिवस मनाईएको हो ।
सो अवसरमा धन्वन्तरीको पुजापाठको साथमा आरोग्य प्राप्तिका लागि दैनिक गरिने योग ध्यान नृत्य गर्दे केन्द्रले आरोग्य दिवस मनाईएको आयुर्वेद स्वास्थ्य केन्द्रका सूचना अधिकारी कमल प्रसाद आचार्यले जानकारी दिनुभयो ।
धन्वन्तरी जयन्तीका अवसरमा आज देशभरका सरकारी तथा गैरसरकारी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालहरु स्वास्थ्य केन्द्र तथा सस्थाहरुमा समेत विविध कार्यक्रम गरी मनाउने गरिए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण बृहतरुपमा औपचारिक कार्यक्रम भएका छैनन् ।
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन देशभर विविध कार्यक्रम गरी धन्वन्तरी जयन्ती मनाईन्छ ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुन्द्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।
आजको दिनलाई आयुर्वेदकर्मीहरुले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रूपमा लिने गर्छन् । वि सं १९८५ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरी जयन्ती मनाउन थालिएको थियो ।
त्यसबेला राजकीय आयुर्वेद महाविद्यालयका नाममा स्थापना भएको आयुर्वेद क्याम्पस आयुर्वेद अस्पतालको शिक्षण अस्पतालका रूपमा सञ्चालनमा थियो ।
आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा विसं २०५६ देखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रूपमा पनि मनाउन थालिएको हो ।
हातमा वैदिक हिन्दू दर्शनका चार उपवेद मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका भगवान् धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।