हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात, चिसोले जनजीवन पनि प्रभावित

काठमाडौं । हिमाली र उच्च पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन पनि प्रभावित भएको छ ।
हुम्ला, डोल्पा, मुस्ताङ र उत्तरी गोरखामा हिउँ परेको छ । लुम्बिनी प्रदेशमा पर्ने पूर्वी रुकुमको दुले भन्ने स्थानमा पनि हिमपात भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात हुने जनाएको छ ।
मुस्ताङका जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो, चराङ, मराङलगायत बस्तीमा हिमपात भएको छ ।
हिमपातसँगै खोला, पँधेरा र धारामा पानी जमेको छ । हिमपात भएसँगै सडकमा सवारी साधन आवतजावत गर्न समस्या भएको छ ।
हिउँले चरन क्षेत्र पुरिएपछि स्थानीयवासीले पशुचौपायालाई गोठमै बाँधेर राख्न थालेका छन् । रासस / इमेज च्यानल