अर्घाखाँचीमा काेराेनाका कारण थप एक जना व्यवसायीकाे निधन, रिटर्नी माइग्रेट अध्यक्ष केसीद्वारा दुख व्यक्त

हरि कुँवर / अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लामा काेराेनाका कारण थप एक जना व्यवसायीकाे ज्यान गएकाे छ ।
काेराेनाका कारण शितगंगा नगरपालिका वार्ड नं २ सितापुरका ३६ बर्षिय प्रेम बिसीकाे उपचारकाे क्रममा बुधवार बिहान १०:५७ भैरहवा मेडिकल कलेजमा ज्यान गएकाे हाे । उनले  सन्धिखर्कको मेनराेडमा श्रमिक इलेक्ट्रिक पसल  गर्दै आएका थिए । 
कार्तिक २४ गते स्वाव संकलन गरि २५ गते काेराेना संक्रमण पुष्टि भएको थियो । उनलाई २९ गते भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको थियो । 
बिसी रिटर्नी माइग्रेट नेपाल अर्घाखाँचीका सक्रिय सदस्य समेत रहेका थिए । रिटर्नी माइग्रेट नेपाल अर्घाखाँचीका अध्यक्ष बसन्त केसीले घटना प्रति दुख व्यक्त गरेका छन् । 
योसँगै अर्घाखाँची जिल्लामा काेराेनाका कारण मृत्‍यु हुनेको संख्या ९ जना पुगेको छ । 
यस्तै अर्घाखाँची जिल्लामा आजसम्म संक्रमितको संख्या ६२१ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २७० जना, शितगंगा नगरपालिकामा १००,   भूमिकास्थान नगरपालिकामा १२७,  मालारानीमा ७६,  पाणिनी गाउँपालिकामा २० र छत्रदेव गाउँपालिकामा २८ जना संक्रमित रहेका छन् ।     
 
जिल्लाका विभिन्न आईसोलेशनबाट आजसम्म  ५६४ जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा २२०  जना, शितगंगा नगरपालिकामा ९८,   भूमिकास्थान नगरपालिकामा १२४, मालारानीमा ७५, पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।   
जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ४९ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।