लक्मण घिमिरे
सन्धिखर्क, अर्घाखाँची । पिसिआर परिक्षणको २४ घण्टा भित्रै नतिजा आउने गरि नेशनल प्याथ ल्याब सन्धिखर्कले स्वाब संकलन सुरु गरेको छ ।
सरकारले निजी अस्पताल तथा प्रयोगशालाहरुलाई कोरोना परिक्षण गर्ने अनुमती दिएसंगै सन्धिखर्कको टुँडिखेलमा कोरोना परीक्षणका लागी स्वाब संकलन सुरु गरिएको नेशनल प्याथ ल्याब सन्धिखर्कका शाखा प्रमुख सागर पोख्रेलले जानकारी दिए । प्रत्येक दिन बिहान १० बजे देखी दिउँसो ३ बजेसम्म कोरोना परीक्षणको लागी स्वाब संकलन गरिने र २४ घण्टा भित्रै पिसीआर रिपोर्ट उपलब्ध गराइने उनले जानकारी दिए । ‘२४ घंटामै रिपोर्ट तयार गर्छौं, ल्याब प्रमुख पोख्रेलले भने,‘नेपाल सरकारले तोकेको शुल्कमै परिक्षण हुन्छ ।’
नेपाल सरकारबाट मान्यताप्राप्त नेशनल प्याथ ल्याबले स्वाब संकलनका लागी सक्रियता देखाएसंगै सन्धिखर्क नगरपालीका र जिल्ला जनस्वाथ्य कार्यालय अर्घाखाँचीले समेत अनुमति दिएका छन् ।
स्वाब दिएपछी हप्तौं सम्म कुर्नुपर्ने अवस्थामा नेशनल प्याथ ल्याबले त्यस्को अन्त्य गर्दै स्वाब दिएको २४ घंटामै रिपोर्ट दिनेछ । स्वाबको रिपोर्ट ढिला आउने गरेकाले कोरोना संक्रमण रहेका बिरामीको उपचारमा समेत कठिनाई देखिएको छ । जिल्लामा भेन्टिलेटर र आईसियु सहितको स्तरिय अस्पताल नहुँदा बिरामी जिल्ला बाहिर जान बाध्य छन् ।
हालसम्म अर्घाखाँचीमा ९ जनाको कोरोना संक्रमणकै कारण ज्यान गईसकेको छ । जसमध्ये केही युवा छन् । जिल्लामा ६२१ जनामा कोरोना संक्रमण पुष्टी भएकोमा ५६४ जना निको भईसकेका छन् । ४८ जना सक्रिय संक्रमित हाल उपचाररत छन् ।