भारतको पुणेस्थित खोप बनाउने कम्पनी सिरम इन्स्चिट्युड अफ इन्डिया (एसआइआई)का प्रमुख कार्यकारी अधिकृत आदर पुनावालाले बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र अष्ट्राजेन्काले बनाइरहेको कोरोना भाइरस विरूद्धको खोप अर्को वर्षको सुरूसम्म भारतमा उपलब्ध हुने बताएका छन्।
बिहीबार हिन्दुस्तान टाइम्सको लिडरसिप समिट २०२० मा बोल्दै उनले भारतमा उपयुक्त र प्रभावकारी खोप यस वर्षको अन्त्य वा अर्को वर्षको सुरूआतमा पाइने बताएका हुन्।
सुरूका डोजहरू अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, कर्मचारी र जोखिममा रहेका वृद्धवृद्धालाई दिइने पुनावालाले बताए।
त्यस्तै अप्रत्यासित अवस्था नआए सामान्य नागरिकले सन् २०२१ को मार्च र अप्रिल सम्ममा खोप पाउने उनको भनाइ छ।
एसआइआईले सन् २०२१ फेब्रुअरीसम्म खोपका १० करोड डोजहरू उत्पादन गर्ने सक्ने हिन्दुस्तान टाइम्सले जनाएको छ।
पुनावालाले खोपलाई सस्तोसमेत बनाउने प्रयास गरिरहेको बताएका छन्। खोपको एक डोजको मूल्य ५ देखि ६ सय भारूसम्म राख्न खोजेको उनले बताए।
त्यस्तै यस खोपको साइड इफेक्ट केही नहुने तर हल्का ज्वरो आउन सक्ने उनको भनाइ छ। त्यस्तो ज्वरो सिटामोलले नै निको पार्न सक्ने पुनावालाले बताए।
उनको कम्पनीले अक्स्फोर्ड/ अष्ट्राजेन्काले बनाइरहेको खोपको भारतमा उत्पादन गर्ने अनुमति पाएको छ। पुनावालाले अहिलेकै अवस्थामा आफ्नो कम्पनीले मासिक ५ करोड डोज खोप उत्पादन गर्न सक्ने र आगामी फेब्रुअरीदेखि क्षमता दोब्बर पारिने बताए।
त्यति गर्दा पनि सबै भारतीय खोप लगाउन भने सन् २०२४ सम्म लाग्ने सक्ने उनको भनाइ छ। एजेन्सीबाट