अर्घाखाँचीडट्कम संवाददाता
मालारानी, अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका निवासी राष्ट्रिय जनमोर्चाका सदस्य खिमानन्द घिमिरेको निधन भएको छ। अखिल नेपाल शिक्षक संघ मालारानी गाउँपालिकाका अध्यक्ष रामकृष्ण घिमिरेका बुबा सामाजिक व्यक्तित्व खिमानन्दको ७९ बर्षको उमेरमा निधन भएको हो ।
मृतक घिमिरेको शनिबार रिडीस्थित कालीगण्डकी किनार सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उहाँको पार्थिव शरीरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य सोमकुमार कार्कीले पार्टीको झण्डा ओढाएरश्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । श्रद्धाञ्जली कार्यक्रममा अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरेले मृतक खिमानन्द घिमिरेको जिवनी र व्यक्तित्वको बारेमा परिचय गराउनुभएको थियो।
मृतक घिमिरे १९९९ कार्तिक १९ गते जन्मनुभएको थियो । २०१६ सालमा स्थानीय सूर्य माविको संस्थापक प्रधानाध्यापक हुनुन्थ्यो भने २०२३ सालमा गोखुङा गाउँ पन्चायतको सचिव भएर लामो समय सामाजिक जिम्मेवारी निर्वाह गर्नुभएको थियो।
२०५४ पछि राष्ट्रिय जनमोर्चामा आवद्ध भएर किसान संगठनमा काम गर्नुभएको थियो । स्थानीय देउराली सामुदायिक वनको अध्यक्ष समेत रहनुभएका घिमिरेले विभिन्न संघ संस्थामा रहेर सामाजिक तथा राजनैतिक भूमिका निर्वाह गर्नुभएको थियो।
अर्घाखाँचीको पश्चिम क्षेत्रकै स्थापित व्यक्तित्व रहनुभएका घिमिरेको निधनले सिङ्गो जिल्ला स्तब्ध बनेको छ। उहाँका १ छोरा र ४ छोरी रहनुभएको छ। उहाँको प्रेरणाको कारण सिङ्गो परिवार नै सामाजिक तथा राजनैतिक आन्दोलनमा कृयाशील रहेको छ।