अर्घाखाँचीमा कोरोनाका कारण मृत्यु भएका ९ जना (सम्पूर्ण विवरण सहित)

 लक्ष्मण घिमिरे 
सन्धिखर्क, अर्घाखाँची  । कोरोना भन्ने रोग लागेर चाईनामा थुप्रै मान्छे मरे अरे । लौ ईटलीमा पनी थुप्रै मरे अरे । चाईनाबाट अमेरिकामा पनी सल्क्यो रे । पानीजहाजमा पनी कोरोना संक्रमण देखियो रे । यो लाग्यो भने मरिन्छ रे । भारतमा छिर्यो भने नेपालमा पनी आउँछ । सबै मरिन्छ……….
पोहोर साल २०७६ को मंसिर पुष ताका यस्तै हाउगुजीले सातो लग्थ्यो । छिमेकी देशहरुमा कोरोना पस्यो रे भन्दा जिउ सिरिङ्ग गर्थो । मर्ने भैयो भनेर सबैले पिर मानेको देखिन्थ्यो ।
छिमेकी देश भारतमा कोरोना देखा प¥यो रे भन्दा खुला सिमानाका कारण नेपाल भयभित थियो । विश्वका दुई सय १० भन्दा बढी राष्ट्र र सामुन्द्रिक जहाजमा फैलिएको संक्रमणले नेपाल पनी अछुतो रहेन । २०७६ माघ १० गते नेपालमा पहिलो संक्रमित भेटिए । चीनको वुहान युनिभर्सिटीमा अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो। त्यसपछी नेपालका सबै भेगमा कम्पन गएझैं नै भयो । सबै तिर कोरोनाकै चर्चा । कोरोनाकै डर । कोरोनाकै त्रास् ।
छिमेकमा जाने कुरा बाराबार, बोल्ने कुरा बाराबार, हिंड्ने कुरा बाराबार भयो । भय यती थियो कि मानिस् मर्दा मलामी जान पनी डराउन थाल्यो । तिन महिना लगातार लकडाउन भयो । खुल्ला सिमाना र आवतजावतले कोरोनाको संख्या थपिंदै गयो । संख्या थपिदै जान थाल्यो, कोरोनाको डर हराउँदै जान थाल्यो । नेपालमा कोरोना संक्रमित फेला परेको झन्डै चार महिना पछी २०७७ ज्येठ ४ गते एक जनाको मृत्यु भयो । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि ग¥यो । त्यो मृत्यु नै नेपालमा कोरोना संक्रमण लागेर मृत्यु भएको पहिलो घटना थियो । अर्थात, कोरोना पुष्टी भएर मर्ने उनी नेपालकै पहिलो व्यक्ती हुन् ।
२०७७ मंसरि ६ गते साँझ सम्मको तथ्याङ्कमा नेपालमा २ लाख १८ हजार छ सय ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये १ हजार तिन सय ५ जनाको मृत्यु भएको छ भने २४ हजार ९ जना सक्रिय संक्रमित रहेका छन् । बहुसंख्यक संक्रमित १ लाख ९३ हजार तिन सय २५ ले यो रोगलाई जितेर निको भएका छन् । हाउगुजी, डर, त्रास, हौवा र केही सत्यताकै बिच अर्घाखाँचीमा २०७७ जेठ ०९ गते कोरोनाकै कारण एक जनाको मृत्यु भयो । भारतबाट आउँदै गरेका उनको बाटोमा बसमै निधन भयो भन्ने खबर आयो । उनको मृत्युका बेला नेपालमा मृत्यु हुनेको संख्या १० पनी पुगेको थिएन । अहिले १२ सय ९८ जना देशैभरमा र ९ जना अर्घाखाँचीमा मृत्यु भएको तथ्याङ्क छ ।
                               कोरोनाका कारण मृत्यु भएका अर्घाखाँचीका नौ जना
पहिलो मृत्यु
२०७७/जेठ/०९
कृष्ण बहादुर गैरे (३४ वर्षिय)
भुमिकास्थान नगरपालिका–९, ढिकुरा ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर-९ ढिकुराका कृष्णबहादुर गैरे श्वासप्रश्वासमा समस्या देखिएपछी नेपाल आउन खोजे । भारतको अहमदाबाद बाट अर्घाखाँची आउने क्रममा उनको कपिलवस्तुको कृष्णनगर सीमा नजिकै बस भित्रै मृत्यु भयो । बसमा सवार भएर आएका गैरेले अत्यधिक बान्ता गरेका कारण बोल्न नसक्ने अवस्थामा थिए। सिमामा ज्यान गएपछी उनको स्वाब टेस्ट गर्दा कोरोना पुष्टी भएको थियो । उनी नेपालका छैठौं मृतक हुन् ।
दोस्रो मृत्यु
२०७७/जेठ/२८
यमप्रसाद खनाल (५७ वर्षिय)
मालारानी गाउँपालिका–४, खन ।
अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर-४ खनका यमप्रसाद खनालको बुटवलबाट उपचार गराएर फर्कने क्रममा गोरुसिङ्गे आसपासमा मृत्यु भयो । अर्घाखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारको लागि बुटवल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएपनि स्वाब परिक्षणका लागि भैरहवा पठाइएको थियो। घाँटीको शल्यक्रियासमेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि बुटवल लगिएको थियो ।
तेस्रो मृत्यु
२०७७/असार/०३
देव बहादुर बिक (४३ वर्षिय)
शितगंगा नगरपालिका–५, जुकेना ।
०७७ जेठ १० गते भारतबाट फर्किएका शितगंगा नगरपालिका-५ जुकेनाका देव बहादुर बिक स्थानिय हरि माविको क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टाईनमा रहेका उनको आरडिटी परीक्षणमा पोजेटिभ आएपछि जेठ २६ गते स्वाव संकलन गरिएको थियो । पिसिआर रिपोर्ट नआउँदै असार ३ गते बुधबार बिहानपख झुण्डिएर आत्महत्या गरेका थिए। पछी रिपोर्ट आउँदा उनमा संक्रमण पुष्टी भएको थियो ।
चौथो मृत्यु
२०७७/भदौ/२३
भुवनेश्वर कुँवर (४१ वर्षिय)
शितगंगा नगरपालिका–१२, सिद्धारा ।
जिल्लाको शीतगंगा नगरपालिका-१२ का भुवनेश्वर कुँवरको कोहपुर मेडिकल कलेज बाँकेमा मृत्यु भयो । टिप्पर दुर्घटनामा घाइते भएका उनलाई कोरोना देखिएपछि भैरहवा हुँदै बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचार गर्न लगिएको थियो। मृतक टिप्पर चालक थिए। २०७७ श्रावण २७ गते निजी टिप्पर दुर्घटनामा परि युनिभर्सल मेडिकल कलेज भैरहवामा भदौ ४ गते भर्ना भएका कुँवरको ५ गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। थप उपचारका लागि भदौ ११ गते मेडिकल कलेज कोहलपुरमा लगिएको थियो। सिभियर निमोनिया रहेका कुँवरको भेन्टिलेटरमा राखेर उपचार भैरहेता पनि भदौ २३ गतेका दिन उनलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
पाँचौं मृत्यु
२०७७/असौज/२९
नेत्र बहादुर सोमई (७३ वर्षिय)
भुमिकास्थान नगरपालिका–९, ढिकुरा ।
अर्घाखाँचीको भुमिस्थान नगरपालिका-९ ढिकुराका वृद्ध नेत्र बहादुर सोमईको दाङ्ग लैजाँदै गर्दा मृत्यु भयो । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा बेड अभाव भएपछि दाङको बेलझुन्डी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो। अर्घाखाँचीबाट उपचारका लागि बुटवल गएका सोमईको लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा गत असौज २७ गते रिपोर्ट पोजिटिभ आएको थियो।त्यसपछि उनलाई कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखिएको थियो। बुटवलमा आइसीयु बेड नपाएका कारण मृत्यु भएको परिवारको दावी छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालले दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा रेफर गरेको थियो। अस्पताल नपुग्दै उनको बाटोमै ज्यान गएको थियो ।
छैठौं मृत्यु
२०७७/कार्तिक/०५
भेषराज न्यौपाने (३८ वर्षिय) 
पाणिनी गाउँपालिका–७, अड्गुरी ।
पाणिनि गाउँपालिका-७, अड्गुरीका न्यौपानेलाई असोज २२ गते कोरोना संक्रमण पुष्टी भएको थियो । कोरोना पोजिटिभ देखिएपछि उनमा केही लक्षण पनी देखा परेको थियो । उनलाई अफ्ठ्यारो महसुस भएपछी असौज २९ गते कोरोना विशेष अस्थाई अस्पताल बुटवलमा भर्ना गरियो । स्वास्थ्य अवस्था जटिल हुँदै गएपछी आइसीयूमा राखेर उपचार गराई रहेका न्यौपानेको कार्तिक ५ गते मृत्यु भयो ।
सातौं मृत्यु
२०७७/कार्तिक/१८
ईश्वरी प्रसाद श्रेष्ठ (५६ वर्षिय)
सन्धिखर्क नगरपालिका–१२, डिभर्ना ।
सन्धिखर्क नगरपालिका वडा नम्बर १२, डिभर्ना छापका शिक्षक इश्वरी प्रसाद श्रेष्ठको कोरोना संक्रमणका कारण मृत्यु भयो । कार्तिक १० गते उनमा संक्रमण पुष्टी भएको थियो । संक्रमण पश्चात असहज भएपछी कार्तिक १२ गते उनलाई भैरहवाको भिम अस्पताल लगिएको थियो । उपचारकै क्रममा कार्तिक १८ गते उनको मृत्यु भयो । उनी संगम आधारभुत विद्यालय जोगिमारेमा पढाउँथे ।
आठौं मृत्यु
२०७७/कार्तिक/२३
कृष्ण प्रसाद आचार्य (३२ वर्षिय)
सन्धिखर्क नगरपालिका–११, डिभर्ना ।
अर्घाखाँचीको डिभर्ना घर भएका कृष्णप्रसाद आचार्य सन्धिखर्कमा व्यवसाय गरेर बस्थे । डेरी उद्योग संचालन गरेका आचार्य अहिलेसम्म मृत्यु हुनेमा सबैभन्दा कम उमेरका व्यक्ती हुन् । केही लक्षण सहित असहज महसुस भएर स्वाब दिएका आचार्यको कार्तिक २३ गते कोरोना रिपोर्ट पोजेटिभ आयो । निमोनिया र शुगरले आक्रमण गरेको शरिरमा कोरोना थपिंदा उनले थेग्न सकेनन् । कार्तिक २३ गते मेडिकल कलेज भैरहवामा उनले दम तोडे ।
नवौं मृत्यु
२०७७/मंसिर/०३
प्रेम बहादुर क्षेत्री (३८ वर्षिय)
सन्धिखर्क नगरपालिका–०१, सन्धिखर्क ।
सन्धिखर्क नगरपालिका-१ मेनरोडमा इलेक्ट्रिक पसल गर्दै आएका प्रेमबहादुर क्षेत्रीको पनी कोरोनाले अल्पायुमा ज्यान गयो । सुरुमा केही लक्षण देखिएपछी उनले स्वाब दिए । कार्तिक २७ गते उनमा संक्रमण पुष्टी भयो । संक्रमण पुष्टी भएपछी उनलाई अझ असहज महसुस भएपछी कार्तिक २९ गते उनलाई मेडिकल कलेज भैरहवा लगियो । निमोनिया रोगबाट पिडित उनलाई श्वासप्रश्वासमा समस्या भएपछि भर्ना गरिएको थियो । उपचारकै क्रममा मंसिर ०३ गते उनको मृत्यु भयो ।
अर्घाखाँचीमा कोरोनाले मृत्यु भएका ९ जना मध्ये चार जना ४० वर्षभन्दा कम उमेरका, दुई जना ५० वर्ष भन्दा कम उमेरका, एक ५६, एक ५७ र एक जना ७३ वर्षिय पुरुष रहेका छन् ।  हालसम्म ६ सय २८ जनामा संक्रमण पुष्टी भएको छ भने त्यसमध्ये ५ सय ६४ जना निको भईसकेका छन् ।
अर्घाखाँचीमा कोरोनाले मृत्यु भएका ९ जना मध्ये चार जना ४० वर्षभन्दा कम उमेरका, दुई जना ५० वर्ष भन्दा कम उमेरका, एक ५६, एक ५७ र एक जना ७३ वर्षिय पुरुष रहेका छन् ।  हालसम्म ६ सय २८ जनामा संक्रमण पुष्टी भएको छ भने त्यसमध्ये ५ सय ६४ जना निको भईसकेका छन् । यो जिल्ला भित्र बसोबास गर्ने र जिल्ला भित्रै मृत्यु हुनेको संख्या हो । यी ९ जना बाहेक अर्घाखाँची मुल घर भई अन्य जिल्ला, भारत तथा तेस्रो मुलुकमा बसोबास गरिरहेका नागरिकले पनी कोरोनाका कारण ज्यान गुमाएका छन् ।
समुदायस्तरमा पनी यो संक्रमण तिव्र रुपमा देखिएपनी अहिले अवस्था सामान्य नै मान्नुपर्छ । केहि समय अँगाडी सन्धिखर्क नगर उपप्रमुख ठाकुर कुमार बिक, नेपाली कांग्रेसका जिल्ला सभापती बिष्णु मुस्कान, राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का, प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पौडेल, प्रहरी नायब उपरिक्षक माधब बुढाथोकी, अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कपिल गौतम लगायतलाई संक्रमण देखिएका थियो । उनीहरु सबै अहिले निको भईसकेका छन् ।
बुढापाका र बालबच्चालाई मात्र खतरा छ भन्ने कुरा गलत भएको अर्घाखाँचीको मृत्यु तथ्याङ्कले पुष्टी गर्छ । हरेक उमेर समुह यस्को चपेटामा परेको छ र अर्घाखाँचीको तथ्याङ्कले त युवाहरु पनी अझ सचेत रहनु पर्ने देखाउँछ । जबसम्म आफू र आफ्नालाई पर्दैन तब सम्म हरेक कुरालाई हावामा उडाउने हाम्रो समाजको बानी नै छ। विश्वभरका मानिसको दैनिकी बदलिदिएको कोरोनालाई सामान्य रुपमा लिईयो भने क्षती हुने निश्चित छ ।
विश्वमा कोरोना बिरुद्धको खोप बनाउने होडबाजी चलेको छ । कतिपय देशहरुले कोरोना खोप सफल भएको समेत दावी गरेका छन् । नेपाल जस्तो गरिब मुलुकमा खोप आईहाल्न समय लाग्छ । सरसफाई र सामाजिक दुरीनै हाल यस्को उपचार रहेको देखिन्छ ।