अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना महामारीका कारण ८ महिनादेखि बन्द विद्यालय खुलेका छन् । जिल्लाका अधिकांश स्थानीय तहले स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय खोल्न निर्देशन दिएपछि कक्षाकोठामै पठनपाठन थालिएको हो ।
सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकाका अधिकाम्स विद्यालयमा आइतबारदेखि पढाउन थालिएको हो । ‘स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालनमा ल्याएको छ । मास्क, सेनिटाइजर, थर्मोमिटरको व्यवस्था तथा दूरी कायम गरेर पठनपाठन थालिएको विद्यालयहरुले बताएका छन् ।
जिल्लाका विधलयहरुमा कोरोना संक्रमण देखिएपछि बीचमा वैकल्पिक विधिबाट पढाउन खुलेका विद्यालय पुन: बन्द गरिएका थिए । अहिले अवस्था सामान्य बन्दै गएकाले पुन: सञ्चालनमा ल्याइएको जिल्लाका सबै पालिकाले बताएका छन् ।
विद्यालय खोल्न सरकारले कात्तिक २० मा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ जारी गरेको थियो । सोहीबमोजिम स्थानीय तहहरूले स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय खोल्ने निर्णय गरेका थिए । कोरोना महामारीका कारण नियमित पढाइ अवरुद्ध भएकाले सबै विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यवस्तु समायोजन ढाँचा २०७७ अनुसार वार्षिक कार्यतालिका बनाई कक्षा सञ्चालनमा ल्याएका छन् । प्रत्येक विषय शिक्षकलाई संक्रमणकालीन वार्षिक शिक्षण योजना बनाई अध्यापन गर्नसमेत भनिएको छ ।
कोरोना संक्रमण फैलिएमा अबदेखि विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई दिइएको छ ।