अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । दाङ जिल्लाको देउखुरीबाट जुवा खालबाट पक्राउ परेका अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ८ का वडाध्यक्ष रुपेश आले सहित ७ जना जुवाडेविरूद्ध प्रहरीले अदालतबाट ७ दिनको म्याद थपेको छ ।
जिल्ला प्रहरी प्रवक्ता खड्काले पक्राउ परेका सबैकाविरूद्ध अदालतबाट ७ दिनको म्याद सोमबार थप गरी अनुसन्धान गर्ने आदेश मिलेको जानकारी दिए। ‘जुवाडेहरूलाई स्थानीय प्रहरीले पक्राउ गरेर जिल्ला पठाएपछि सोमबार नै म्याद थपको काम पूरा भयो,’ डिएसपी खड्काले भने, ‘थप अनुसन्धानको काम मंगलबारदेखि सुरू होला।’
दाङको राप्ती गाउँपालिका वार्ड नम्बर २ लालमटिया स्थित गोपाल खत्रीको घरमा वार्ड नम्बर ३ बस्ने बर्ष २१ का यमबहादुर रानाले संचालन गरेको राप्ती फेम्ली रेष्टुरेण्टमा रकमको हारजित हुने गरी जुवा खेली र खेलाईरहेको भन्ने गोप्य सूचनाको आधारमा सोमबार राती १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले जुवाको खालबाट ७ जना जुवाडेलाई एक लाख ४६ हजार नगद र जुवा खेल्न प्रयोग भएको १० थान तास गड्डि, १ थान गलैचा सहित पक्राउ गरेको थियो ।
पक्राउ पर्ने अन्य व्यक्तिहरूमा प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं. ३ का ५० वर्षीय चुमानसिंह सुनार र ३५ वर्षीय अली साह, सरुमारानी वडा नं. १ का २४ वर्षीय एडिस मिया, ४० वर्षीय अकबर हुसेन मिया र ४४ वर्षीय कृष्णबहादुर रानाका साथै रेस्टुरेन्ट सञ्चालक राप्ती गाउँपालिका वडा नं. २ लालमटिया निवासी २१ वर्षीय यमबहादुर राना छन्।
आलेले प्रहरीलाई छल्न दाङको ठेगाना लेखाए
उता जुवाको खालमा पक्राउ परेका वडाध्यक्ष आलेले प्रहरीलाई झुक्याउन दाङको ठेगाना लेखाएको खुलासा भएको छ।
आले सोमबार बिहान १ बजे दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियामा जुवाको खालबाट पक्राउ परेका थिए। ४२ वर्षीय वडाध्यक्ष आले पक्राउ परेका अरू जुवाडेसँगै जिल्ला प्रहरी कार्यालय घोराही दाङको थुनामा छन्।
तर, उनले प्रहरीलाई गलत ठेगाना लेखाएर लोकलाज छल्न खोजेको देखिएको छ। वडाध्यक्षले आफ्नो सही ठेगाना लुकाएर दाङको राप्ती गाउँपालिका वडा नं. १ ठेगाना लेखाएका अर्घाखाँचीका एक नेकपा नेताले बताए ।
‘उहाँ हाम्रो जिल्ला अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष हो,’ ती नेताले भने, ‘लोकलाज छल्न र प्रहरीलाई झुक्याउन उहाँले दाङको ठेगाना लेखाएको हुन सक्छ।’
प्रहरीले सार्वजनिक गरेको नाम रुपेश र ठेगाना दाङको राप्ती गाउँपालिका वार्ड नं. १ भन्ने छ। आलेले तत्कालीन नेकपा एमालेबाट उनले निर्वाचन जितेका थिए ।
यो विषयमा बुझ्न खोज्दा दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले भने अनभिज्ञता व्यक्त गरे। ‘वडाध्यक्ष हो भन्ने हामीलाई सूचना छैन,’ डिएसपी खड्काले भने, ‘कसैले नाम-ठेगाना ढाँटेको भए पनि भोलि थाहा भइहाल्छ।’
जिल्ला प्रहरी प्रवक्ता खड्काले कसैले नाम र ठेगाना ठगेको भए पनि मुद्दा चलाउँदा नाकगरिता चाहिने हुँदा त्यो झुट पत्ता लागिहाल्ने बताए।