अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न सघाउने संकेत दिएका छन् । राष्ट्रपति ट्रम्पले बाइडेनको संक्रमणकालीन टिमसँग सहकार्य सुरु गर्ने संकेत दिएका हुन् ।
रिपब्लिकन पार्टीबाटै अहिलेको जटिल अवस्थामा राष्ट्रपतिमा निर्वाचित बाइडेनको टिमसँग सहकार्य गर्नुपर्ने दबाब आएपछि ट्रम्प लचक भएका हुन् ।
राष्ट्रपति ट्रम्पले अझै पनि औपचारिक रुपमा हार भने स्वीकार गरेका छैनन् । मिसिगन राज्यमा बाइडेनलाई जितको प्रमाणपत्र दिइएपछि मतपरिणामलाई चुनौती दिँदै आएका ट्रम्पलाई धक्का पुगेको हो । चुनावी परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने पनि ट्रम्पको भनाइ छ ।
अमेरिकाको सामान्य प्रशासन सेवा(जीएसए) ले पनि जो बाइडेनलाई ‘स्पष्ट विजेता’ का रुपमा लिएको बताएको छ । जीएसएले बाइडनको संक्रमणकालीन टिमलाई स्रोत साधन उपलब्ध गराउने जानकारी दिएपछि पनि ट्रम्पको प्रतिक्रिया आएको हो । राष्ट्रपति ट्रम्पद्वार नियुक्त जीएसए प्रमुख इमिली मर्फीले बाइडनको टिमका लागि ६३ लाख डलरको कोष उपलब्ध गराउने बताएकी छिन् ।
बाइडेनको टिमलाई सघाउने प्रक्रियामा ढिलाइका लागि ह्वाइट हाउसबाट दबाब नआएको पनि उनले स्पष्ट पारेकी छिन् । तर आफूलाई फोन र मेलबाट भने धम्की आएको उनले बताइन् । जति नै धम्की आए पनि आफू कानुनी प्रावधानबाट बाहिर गएर काम नगर्ने उनले बताएकी छिन् ।
राष्ट्रपति ट्रम्पले ट्वीटमा भनेका छन्, ‘जीएसएले सुरुवाती प्रोटोकलअनुसार जे गर्नुपर्ने हो त्यो गर्नुपर्नेछ ।’ ट्रम्पले आफूले आफ्नो टिमलाई पनि यसै गर्न अनुरोध गरेको जानकारी दिएका छन् ।
राष्ट्रपति ट्रम्पले सत्ता हस्तान्तरण प्रक्रिया सुरु हुने बताएपछि बाइडन टिमले यसको स्वागत गरेको छ । अब जो बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४७औं राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्ने तयारी थाल्नेछन् ।
बन्दैछ बाइडेनको भावी टिम
बाइडेनको आफ्नो भावी टिम पनि तयार गर्दैछन् । उनले पूर्वविदेशमन्त्री जोन केरीलाई जलवायुसम्बन्धी विशेष दूतको भूमिका दिने भएका छन् । केरी चार वर्षअघि पेरिस सम्झौतामा हस्ताक्षर गर्ने व्यक्ति पनि हुन् । तर राष्ट्रपति ट्रम्प उक्त सम्झौताबाट पछाडि हटेका थिए ।
त्यस्तै लामो समयसम्म आफ्नो सल्लाहकार रहेका एन्टोनी ब्लिङ्केनलाई बाइडेनले आफ्नो विदेशमन्त्रीका रुपमा छनोट गरेका छन् । उनी विश्व मामिलाका ज्ञाता र अन्तर्राष्ट्रियवादमा विश्वास राख्ने व्यक्तिका रुपमा चिनिन्छन् ।
त्यसैगरी बाइडेनले लिन्डा थोमस ग्रीनफिल्डलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत, जेक सुलिभानलाई राष्ट्रिय सुरक्षा सल्लाहकार, नेसनल इन्टेलिजेन्स डाइरेक्टरका रुपमा एभ्रिल हेन्स र चिफ अफ् स्टाफका रुपमा रोन क्लेनलाई छनोट गरिसकेका छन् । एजेन्सी