अर्घाखाँचीमा छैठौं उद्योग दिवस २०७७ मनाइयो

कृष्ण परियार 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा छैठौं उद्योग दिवस २०७७ मनाइएको छ । 
घरेलु तथा साना उद्योग अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा छैठौं उद्योग दिवस २०७७ मनाइएको हो । सो अवसरमा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का “उज्ज्वल”ले उद्यमीहरुले गुणस्तरीय सेवा दिनुपर्ने बताएका छन् । उद्यमीहरुले उत्पादन गरेका वस्तु गुणस्तरीय भए राज्यले पनि लगानि गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खड्काले उद्यमीहरुको हकहीतका लागि आफु लागि पर्ने बताए । उद्यम क्षेत्र विकास र समृद्धिको मेरुदण्ड भएकाले यसको उचित व्यवस्थापन गर्न राज्य पछि पर्न नहुने बताए ।
मुलुकलाई समृद्ध बनाउने आधार औद्योगिक क्षेत्र हो, उद्यमविना कुनै पनि देशको विकास भएको छैन, उनले भने“यसमा लगानी गर्न सरकार पनि पछि हट्नु हुन्न ।” उद्यमीहरुले गुणस्तरीय वस्तुको उत्पादन गर्न सके जिल्ला बाहिर पनि बजार व्यवस्थापन गर्न सकिने बताए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल “मुस्कान”, चेम्बर अफ कमर्स अर्घाखाँचीका अध्यक्ष अशोक श्रेष्ठ, पत्रकार लक्ष्मण घिमिरे, उद्योगी रमा खत्री लगायतले मन्तव्य राख्दै उद्यमको विकास हुन सके रोजगारीको पनि श्रृजना हुने भएकाले सरकारले लगानी गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा उत्कृष्ट व्यवसाय गरेको भन्दै जिल्लाका ४६ जना उद्यमीहरुलाई खादा र प्रमाणपत्रले सम्मान समेत गरिएको थियो । कार्यक्रममा सन्धिखर्क २ का वडाध्यक्ष मोतिजंग रायमाझी, जिल्ला प्रहरी प्रमुख माधव बुढाथोकी, शसस्त्र प्रहरी प्रमुख रामकृष्ण महर्जन, अनुसन्धानका विनयराज चतुरवेदी लगायत उद्यमीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम घरेलु तथा साना उद्योग अर्घाखाँचीका प्रमुख केशव सुनारको अध्यक्षता र सुचना अधिकारी लक्ष्मीप्रसाद दाहालको सञ्चालनमा सम्पन्न भएको हो ।