सुपा देउराली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिकस्थल सुपा देउराली मन्दिरमा दर्शनार्थीहरूको भीड बढेको भन्दै पाठा, पाठी बली दिन मुल गेट नखोलिने भएको छ ।
जिल्ला प्रशासन अर्घाखाँची र सुपा देउराली मन्दिर समितिको निर्णय अनुसार भक्तजनको चाप बढेपछि मन्दिरको मुल गेट नखोलिने तर मेडा पुरानै स्थानमा काटिने भएको हो ।
चैत्र महिनादेखि बन्द रहेको मन्दिर खुलेसँगै यहाँको सुपादेउराली मन्दिरमा पछिल्लो समय दर्शनार्थीहरूको भीड बढेको छ । यहाँ यतिबेला छिमेकी जिल्लाबाट समेत भक्तजन आउने गरेका छन् ।
दर्शनार्थीहरू ‘मन्दिरमा पूजा गरेपछि नरपानी र खाँची लेकमा पुग्छन् । त्यहाँबाट हिमाल हेर्ने र फोटो खिच्ने गर्छन् ।’
छिमेकी जिल्लाबाट तीर्थालुहरु गाडी नै रिजर्भ गरेर आउने गरेका छन् ।
यहाँ वर्षमा ४० देखि ६० लाख भेटी जम्मा हुन्छ।
अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिकस्थल सुपा देउराली मन्दिर वि.स २०६४ चैत निर्माणधिन अवस्थामा ( दाँया फोटो) । त्यो भन्दा अगाडि मन्दिर ( बाँया) । अर्घाखाँची जिल्लाको प्रसिद्ध धार्मिकस्थल सुपा देउराली मन्दिर २०४२ सालमा मात्र निर्माण भएको थियो। महाभारत पर्वत श्रृङ्खलाका ठुला ठुला पहाडहरूको खोचमा अवस्थित यस मन्दिरमा परापूर्वकालमा जागिरका लागि एकजना लाहुरेले भाकल गरेका थिए । उनको भाकल पनि पूरा भयो । मन्दिरको बाटो हुँदै फर्किदै गर्दा उनले मन्दिरमा भाकल अनुसार पुजा गरेनन् । जसको फलस्वरुप उनी भित्तामा टाँसिएर बिलिन भएको किम्बदन्ती रहेको छ । यस्तै यस मन्दिरको स्थापना कहिले र कसरी भयो भन्ने सान्दर्भमा विभिन्न किम्वदन्तिहरूका आधार र पहरामा लाहुरे टाँसिएको, भगवान रामकी पत्नि सीताले बनाएको चुलो, जाँतो आदीका शिलाहरूबाट त्रेता युग देखि नै यहाँ शक्ति थियो भन्न सकिन्छ । पछि आएर बाइसे चौबिसे राज्यका पालामा खाँचिकोट राज्यका राजकुमार र भारतको बलरामपुरकी राजकुमारी बीच विवाह गरी घर तर्फ ल्याउँदा बाटोमा केही कुरा झुटो बोलेर अथवा ढाँट छल गरेर विवाह गरेको हल्ला दुलहीले सुनिन् । डोलिमा बोकेर ल्याएकी दुलही हाल सुपा देउराली मन्दिर रहेको स्थान भन्दा करिब पचास मिटर दक्षिणमा पुग्दा डोलिबाट रगतको थोपा झरेछ । यो रगतको थोपा देखेर हाल मन्दिर रहेको स्थानमा आएर डोलिमा हेर्दा दुलही मृत अवस्थामा थिइन् । त्यसपछि खाँचिकोट राज्यमा विभिन्न रोग व्याधी र महामारी फैलिएर विभिन्न विध्न वाधाहरू उत्पन्न हुन थाले । एक जना खनाल थरका ज्योतिषलाई बोलाएर धामी (झाँक्री) हेराउँदा त्यस ठाँमा दैविक शक्ति उत्पन्न भएको र कोलो पाठी बलि दिनु पर्छ भनेकाले त्यसै समय देखि खाँचिकोट राज्यका राजा ठकुरी राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कुल पूजा गर्दै हालसम्म आएको इतिहास पाइन्छ ।