नरपानीमा कोरोना संक्रमणका कारण आज एक पुरुषको निधन, अर्घाखाँचीमा मृत्‍यु हुनेको संख्या ११ जना पुग्यो (सम्पूर्ण विवरण सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीमा एक पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ । 
नरपानीका ५१ वर्षिय चन्द्र बहादुर पहराईको कोरोना संक्रमणका कारण निधन भएको हो ।    सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले अर्घाखाँचीडट्कमलाई जानकारी दिए अनुसार निजलाई मंसीर १४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । भने मृतकको शब नरपानीमा आज नै वार्ड अध्यक्ष र प्रहरीको रोहवरमा व्यवस्थापन भएको छ । 
जिल्लामा योसँगै कोरोनाका कारण ११ जनाको निधन भएको छ । 
यस्तै जिल्लामा आजसम्म संक्रमितको संख्या ६५१ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २९३ जना, शितगंगा नगरपालिकामा १०३,   भूमिकास्थान नगरपालिकामा १२७,  मालारानीमा ७७,  पाणिनी गाउँपालिकामा २१ र छत्रदेव गाउँपालिकामा ३० जना संक्रमित रहेका छन् ।   
यस्तै  जिल्लाबाट आजसम्म  ६१० जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा २६५  जना, शितगंगा नगरपालिकामा ९८,   भूमिकास्थान नगरपालिकामा १२५, मालारानीमा ७५, पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।
मंगलबारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ३० जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।