बेलायतले फाइजर/बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप सर्वासारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।
विश्वमा कोरोना भाइरसविरुद्धको खोप बिस्तारित तहमा सर्वासाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गर्ने बेलायत पहिलो देश बनेको छ ।
जर्मन कम्पनी बायोएनटेक र अमेरिकी कम्पनी फाइजरले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्नमा ९५ प्रतिशत सफल भएको तेस्रो तथा अन्तिम चरणको मानवीय परीक्षणले देखाएको थियो ।
त्यसपछि सो खोप स्वीकृतिका लागि निवेदन दिइएकोमा बेलायतको नियामक निकाय एमएचआरएले हरियो झण्ड देखाएको हो ।
एमएचआरएले फाइजरको खोपको प्रभावकारिता ९५ प्रतिशतसम्म देखिएको भन्दै सर्वसाधारणलाई बिस्तारित तहमा प्रदान गर्नका लागि सुरक्षित रहेको बताएको हो ।
उच्च प्राथमिकता समूहमा रहेका व्यक्तिहरुलाई अबको केही दिनभित्र फाइजरको खोप दिन थालिने छ ।
बेलायतले यसअघि नै खोपको चार करोड डोजको अडर दिएको छ । दुई डोज दिइनु पर्ने खोप बेलायतमा हालको अडर अनुसार दुई करोड मानिसलाई दिन पुग्छ ।
चाँडै नै एक करोड खोप उपलब्ध हुनेछ ।
इतिहासमै सबैभन्दा छिटो कुनै पनि खोप विकास भएर सर्वसाधारणको प्रयोगमा आउन थालेको हो । मात्रै १० महिनामा खोप तयार भएको हो । सामान्य अवस्थामा खोप बनाउनका लागि दशक लाग्ने गर्छ । एजेन्सी