संगम बेल्बासे
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले टोल टोलमा गई योजना सम्झौता तथा सहजिकरण कार्यक्रम हुदाँ स्थानिय उपभोक्ताहरु खुसी भएका छन । हिजो बुधबार वडा नं. ९ सिद्धारामा पनि योजना सम्झौताका काम सम्पन्न भएका छन ।
प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर केसीको संयोजकत्वमा थालिएको यसखाले कार्यक्रम यस अघि वडा नं. १० र १३ मा सम्पन्न भई सकेका छन ।
नगरले उपभोक्ता समितिमार्फत गर्नुपर्ने निर्माण सम्बन्धी योजनाहरुको सम्झौता गाउँगाउँमा आएर गरिरहेको प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर केसीले बताउनु भयो । अन्य सफ्टवेरसम्बन्धी योजना भने सिधै पालिकामा प्रस्तावना पेश गरी कार्यन्वयन गर्न मिल्ने उहाँले जानकारी दिनुभयो ।
स्थानिय उपाभोक्ताहरुमाझ अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बेलैमा योजना सम्पन्न गर्नेतिर जुट्न आग्रह गर्नुभयो । उहाँका अनुसार नगरले मंङसिर मसान्ता सम्ममा सबै वडाका योजनाहरु सम्झौता गर्ने लक्ष्य लिएको छ । सम्झौता भएका योजनाहरु चैत मसान्ता भित्र सक्ने नगरको योजना रहेको उहाँको भनाई छ ।
योजना शाखाका प्रमुख नुमलाल भुसालका अनुसार एकै दिन वडा नं ९ मा २२ विकास निर्माणका योजना सम्झौता गरिएको छ । आर्थिक वर्ष २०७७⁄०७८ का योजना अन्तरगत वडामा भौतिक निर्माण, सडक, खानेपानी, सिञ्चाई, कृषि जस्ता विषयका निर्माणसम्बन्धी योजनाहरु कार्यन्वयनका लागि सम्झौताका साथै अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो ।
शाखा प्रमुख भुसालका अनुसार उपभोक्ताहरु कागजी प्रक्रियामै झमेला वेहोर्नुपर्ने जसका कारण नगरमा बारम्बार धाउनुपर्ने अवस्थालाई मध्यनजगर गर्दै गाउँमै योजना सम्झौता र सहजिकरण कार्यक्रम सञ्चालन गरेको उहाँले स्पष्ट पार्नुभयो । विकट क्षेत्रका उपभोक्तामा योजना सम्झौता सम्बन्धि अनविज्ञ हुदाँ समयमै सम्पन्न हुन नसकेको समेत बताउनु भयो । अझै अन्य वडामा पनि योजना सम्झौता गर्ने अभियान जारी रहेको उहाँको भनाई छ ।
योजना सम्झौता तथा अभिमुखिकरण टोलीमा प्रमुख प्रशासकिय अधिकृत केसीको नेतृत्वमा योजना शाखा प्रमुख नुमलाल भुसाल, सूचना अधिकारी ओम प्रकाश पाण्डे सहित प्राविधिक टोली सँगै स्म्बन्धित वडाका वडाध्यक्ष, वडा सदस्यहरु खट्दै आएको छ ।