अमेरिकी वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प चार वर्षपछि फेरि चुनावी मैदानमा आउने

मंसिर १८ । अमेरिकी राष्ट्रपति पदमा पराजित रिपब्लिकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प चार वर्षपछि फेरि चुनावी मैदानमा आउने हुनुभएको छ ।
ह्वाइट हाउसमा फर्कनका लागि सन् २०२४ को पार्टीभित्रको प्रारम्भिक चुनावी अभियान शुरु गर्न सक्ने संकेत ट्रम्पले गर्नुभएको अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजले जनाएको छ ।
हालको राष्ट्रपति निर्वाचन डेमोक्रेट उम्मेदवार जो बाइडनले जितेको तथ्यलाई नस्वीकार्ने भन्दै उहाँले सन् २०२० को निर्वाचन परिणामका विरुद्धमा अभियान जारी नै राख्ने पनि उहाँले बताउनुभयो ।
ह्वाइट हाउसमा रिपब्लिकन नेशनल कमिटीका सदस्यका लागि आयोजना गरिएको एक पार्टीमा ट्रम्पले आफ्नो चार वर्ष गज्जवको रहेको र अर्को चार वर्ष पनि त्यस्तै बनाउने प्रयास जारी रहेको उल्लेख गर्दै त्यसो हुन नसके अर्को चार वर्षमा भए पनि गर्ने बताउनुभयो ।
यद्यपि, थ्याङ्सगिभिङ पर्वका दिन पत्रकारहरुसँग उहाँले सन् २०२४ का बारेमा अहिले केही नबताउने भन्नुभएको थियो । तर बन्द कोठाभित्र आफ्ना सल्लाहकारहरुसँग भने अर्को चार वर्षका लागि पनि प्रयास गर्ने उहाँले बताउने गर्नुभएको छ ।
सम्भवतः उहाँले आफ्नो घोषणा बाइडनलाई ह्वाइट हाउसको नेतृत्व सुम्पने दिन जनवरी २० मा गर्नुहुनेछ । एजेन्सी