डाबर, पतञ्जली, वैद्यनाथ, झण्डु, हितकारी र एपिस हिमालय प्रमुख ब्राण्डका महमा चिनीको मिसावट

भारतमा बिक्री हुने कैयौँ प्रमुख ब्राण्डका महमा चिनीको मिसावट हुने गरेको पाइएको छ।
सेन्टर फर साइन्स एण्ड इन्भायरोमेन्ट (सीएसई)का खाद्य अनुसन्धानकर्ताहरुले महको शुद्धता जाँच गर्दा चिनीको मिलावट पाइएको बताइएको छ।
सीएसईले बुधबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा यस्तो दावी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
उक्त अध्ययनका लागि अनुसन्धानकर्ताहरुले विभिन्न १३ वटा सानाठूला ब्राण्ड छानेका थिए। छानिएका मध्ये ७७ प्रतिशत नमुनामा चिनीको मिसावट गरिएको पाइएको थियो। २२ वटा नमुना परीक्षण गरीएकोमा १७ वटामा चिनीको मिसावट पाइएको थियो।
अध्ययनमा डाबर, पतञ्जली, वैद्यनाथ, झण्डु, हितकारी र एपिस हिमालय जस्ता प्रमुख ब्राण्डका मह परीक्षण गर्दा मिसावट पाइएको हो।
सुरुमा गुजरातस्थित राष्ट्रिय दुग्ध बोर्डको प्रयोगशालामा २२ वटा नमुना परीक्षण गरिएको थियो। जसमा प्रमुख ब्राण्डहरु परीक्षणमा सफल देखिएका थिए।
तर त्यसपछि जर्मन प्रयोगशालामा गरिएको परिक्षणमा सफोला, मार्कफेड सोहना र नेचर अमृत ब्राण्डको मह मात्रै सफल भएको बताइएको छ।
यसैबीच डाबर र पतञ्जलीले अध्ययन प्रतिवेदनको खण्डन गर्दै कम्पनीलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन्। एजेन्सी