बहराइनमा कोरोनाविरुद्धकाे खोप प्रयोग गर्न स्वीकृति, स्वीकृति दिनेमा दोस्रो देश

कोरोनाविरुद्धकाे खोप प्रयोग गर्न स्वीकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । 
फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्वीकृति दिएको हो । 
बहराइनको राज्यद्धारा संचालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगका लागि स्वीकृति दिने देशमा बेलायतपछि बहराइन दोस्रो देश बनेको उल्लेख छ ।
 यसअघि बुधबार बेलायतले यही खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्वीकृति दिएको थियो । 
देशको राष्ट्रिय स्वास्थ्य नियमक निकायले सवै कुरा अध्ययन गरेर यसलाई आपताकालिन अवस्थामा प्रयोग गर्न सकिने सिफारिस गरेपछि सरकारले त्यसलाई स्वीकृति दिएको हो । 
प्रयोगका लागि स्विकृति दिएपनि कति खोप सरकारले ल्याएको छ र त्यसको प्रयोग कहिलेदेखि गरिने छ भन्ने बारेमा भने केही जानकारी दिइएको छैन । 
त्यसैगरी फिजरले पनि बहराइनसँग भएको सम्झौतामा कति खोप बहराइनलाई दिन लागिएको हो र कहिले कहिले ढुवानी हुने हो भन्नेलगायतका जानकारी दिन नमिल्ने र आफ्नो तर्फबाट गोप्य नै राखिने जनाएको छ । 
झण्डै १६ लाख जनसंख्या रहेको मुलुक बहराइनमा अहिलेसम्म कोरोनाबाट ८७ हजार जना संक्रमित भएका छन् भने तीन सय ४१ जनाको निधन भएको छ । एजेन्सी