अर्घाखाँचीडट्कम संवाददाता
वाणगंगा, कपिलवस्तु (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ छत्रगंजका एक युवा चाँदी सहित प्रकाउ परेका छन् ।
छत्रगंजका २२ वर्षिय उमेश सुनार लुकाई छिपाई ल्याउदै गरेको चाँदी सहित कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको हो । सुनार सहित अर्का एक जना चालक रुपन्देही सिद्धार्थनगर नगरपालिका १३ का २६ वर्षिय सुगम पुन पनि प्रकाउ परेका छन् ।
उनीहरुलाई जिल्लाको वाणगंगा नगरपालिका २ लखनचोक स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको लु ५५ प ६१५९ नं.को स्कुटीमा चाँदी सहित नियन्त्रणमा लिएको थियो ।
उनीहरुलाई प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स्कुटी पछाडी सवार अर्घाखाँची छत्रदेवी गाउँ पालिका ५ का २२ वर्षिय उमेश सुनारले बोकेको साईड ब्यागभित्र लुकाई राखेको अवस्थामा अन्दाजी ९६ हजार मूल्य बराबरको अन्दाजी ७३ तोला चाँदी र सेतो रातो पत्थर ४८ पिस फेला पारी स्कुटी र उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीबारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।