अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा चिसो बढे लगतै प्रहरीले शीतलहर, हिमपात, चिसोबाट बच्न जिल्लाबासीलाई अनुरोध गरेको छ ।
जिल्लामा मंसिर महिनाको मध्यपछि चिसो बढे लगतै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले शीतलहर, हिमपात, चिसोबाट बच्न जिल्लाबासीलाई अनुरोध गरेको हो ।
अर्घाखाँचीका कैयौ भागमा बिहानैदेखि लागेको बाक्लो हुस्सुसँगै अत्यधिक चिसो बढेको हो । पश्चिमा वायुको प्रभावले गर्दा चिसो अत्याधिक रुपमा बढेर तापमान कम हुँदै जाँदा जिल्लाको बिहानी र साँझको जनजीवन प्रभावित भएको देखिन्छ ।
जाडोका कारण वृद्धवृद्धा र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन् । चिसो बढेपछि स्थानीय बासिन्दाले बिहानपख ठाउँ–ठाउँमा आगो ताप्न शुरु गरेका छन् ।
पश्चिमा वायुको प्रभावका कारण एक्कासी बढेको चिसोबाट बाँच्न न्यानो लुगा, घरबाहिर कम निस्कन, आगो ताप्न तथा बालबालिकाहरुलाई राम्ररी राख्न जिल्ला प्रहरी कार्यालयले जनहितमा सन्देश जारी गरेको छ ।
यस्तै चिसोबाट निमोनिया, दम, कोल्ड ज्वरो, उच्च रक्तचापका विरामीहरु संयमित भएर बस्न र तातो पानीको प्रयोग गर्न पनि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जिल्लाबासीसँग अपिल गरेको छ । – अर्घाखाँचीडट्कम