धारापानीका एक पुरुषको कोरोना संक्रमणबाट बुटवलमा निधन, अर्घाखाँचीमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या १२ पुग्यो

अर्घाखाँची डट्कम संवाददाता 
धारापानी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नं- ४ धारापानीका एक पुरुषको कोरोना संक्रमणबाट बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा निधन भएको छ ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले जारी गरेको जानकारी अनुसार धारापानीका ४० वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मंगलबार राती उपचारका क्रममा निधन भएको हो ।
ति युवालाई गत मंसिर १७ गते ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि  बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।  भने उनको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
अर्घाखाँची जिल्लामा आजसम्म संक्रमितको संख्या ६८२ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३२२ जना, शितगंगा नगरपालिकामा १०३,   भूमिकास्थान नगरपालिकामा १२८,   मालारानीमा ७८,   पाणिनी गाउँपालिकामा २१ र छत्रदेव गाउँपालिकामा ३० जना संक्रमित रहेका छन् ।   
यस्तै जिल्लाबाट आजसम्म  ६२२ जनाले कोरोना जितेर घर फर्केका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा २७४  जना, शितगंगा नगरपालिकामा १०१,    भूमिकास्थान नगरपालिकामा १२५, मालारानीमा ७५, पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा २८ जनाले कोरोनालाई जितेका हुन् ।
जिल्लामा योसँगै कोरोनाका कारण ११ जनाको निधन भएको छ । 
मंगलवारसम्म जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ४९ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।