अर्घाखाँची कांग्रेस क्रियाशील सदस्यताको काम सक्नेमा पहिलो

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  नेपाली कांग्रेस अर्घाखाँचीले आज क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयमा बुझाएको छ।
कोरोनाभाइरस महामारीबीच क्रियाशील सदस्यता वितरण र नवीकरणका काम अर्घाखाँची जिल्ला कार्यसमितिले टुंग्याएको हो।
‘सचिव विष्णुप्रसाद भुसालले आज केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यको विवरण बुझाउनु भएको छ । पार्टी केन्द्रीय कार्यालयको निर्देशनअनुसार क्रियाशीलको विवरण बुझाउने अर्घाखाँची कांग्रेस पहिलो हो। अरू ७३ जिल्लामा क्रियाशीलको काम भइरहेको छ।
सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ले कोरोनाको निहुँ देखाएर क्रियाशीलको काम रोक्न नहुने बताउनु भयो ।  ‘६१ वडा रहेको अर्घाखाँचीमा हामीले विवादविनै क्रियाशिल सदस्यता टुंग्याएको हो,’ उहाँले भन्नुभयो ‘मातहत समितिलाई विश्वास गर्ने हो भने फटाफट काम गर्न सकिन्छ।’
अर्घाखाँचीबाट ११ हजार आठ सय ७० जना क्रियाशीलको नाम केन्द्रीय कार्यालयमा बुझाएको जानकारी दिनुभयो ।  जुन संख्या २०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनमा जम्मा ६ हजार मात्रै थियो।