अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा रहेका सरकारी कार्यालय र ६ पालिकामा कार्यरत कर्मचारीले फेसबुक र टिकटक चलाऊदा सेवाग्राहीको काममा असर परेको छ ।
सन्धिखर्कमा रहेका विभिन्न सरकारी कार्यालय र जिल्लाको सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा कार्यरत कर्मचारीले फेसबुक र टिकटक चलाऊदा सेवाग्राहीको काममा असर परेको जनगुनासो आएको हो ।
जिल्लामा स्थानियबासीहरुले सरकारी कार्यालय र ६ पालिकामा टिकटक र फेसबुक चलाउन प्रतिबन्ध लगाउन माग गरेका छन् ।
नगरपालिकाले कार्यालय हाताभित्र कुनै पनि कर्मचारीले फेसबुक र टिकटक चलाउन नपाउने नियम लगाउनु पर्छ; शितगंगा -३ का जनक भुसालले भने ।
कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, म्यासेन्जर, टिकटक चलाउन नपाउने नियम बनाउनु पर्छ; सन्धिखर्कमा कामका लागि आएका पणेनाका बाबुराम पाण्डेले भने ।
अर्घाखाँचीमा सामाजिक सञ्जालमा कर्मचारी व्यस्त हुँदा सेवाग्राहीको काममा असर परेको जनगुनासो लामो समयदेखि आएको छ ।
कार्यालयमा बसेर सरकारी पोसाकमै टिकटक बनाउने, फेसबुक, टिकटकमा पोस्ट गर्ने, कामभन्दा अन्य विषयमा पोस्ट, कमेन्ट गर्नेजस्ता काम हुने गरेको जनगुनासो नियमित आएको छ । कार्यालय समयमा कर्मचारीले फेसबुकमा समय खर्च गरेको देखिन्छ ।