भूमिकास्थानका नगर प्रमुख थापाद्धारा आफ्नो तलवभत्ताबाट धारापानीको साना औवलको विद्यालयमा अक्षयकोष स्थापना

पहिलो प्रकासित मिति: २०७७ म‌सिर २८, आइतवार 

अर्घाखाँचीडट्कम संवाददाता  
धारापानी, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले आफ्ना दिवंगत हजुरवुवा तथा हजुरआमाको सम्झनामा अक्षयकोष स्थापना गरेका छन् ।
नगर प्रमुख रेशम थापाले आफ्ना दिवंगत हजुरवुवा जुद्धविर थापा तथा हजुरआमा तिलकला थापा क्षेत्रीको नाममा धारापानीको साना औवलमा रहेको श्री विरेन्द्र आधारभूत विद्यालयमा १९ हजार ९ सय ९९ को अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कृष्ण सुनार र सपरिवारले आफ्ना दिवंगत बुवा तथा आमाको स्मृतीमा १ लाख १० हजार ३ सय ३ रुपियाँको अक्षयकोष घोषणाको लागि आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी रहेका नगरप्रमख थापाले आफ्नो तर्फबाट पनि उक्त घोषणा गरेका हुन् ।
नगरप्रमुख थापाकी हजुरआमा तिलकला थापा क्षेत्रीको माईती धारापानीको  सानाऔवल रहेको र आफुले पाउने तलव भत्ताबाट आफ्नो सेवा क्षेत्रभित्र रहेको एक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।
नगरप्रमुख रेशम थापा चुनाव जित्नु अगाडिदेखि नै भूमिकास्थान नगरपालिकाको बिकासका साथै सामाजिक काममा निरन्तर खटिएका देखिन्छन् ।