फाइल फोटो: २०६८ चैत्र २८, मंगलवार, वीरेन्द्र के.सी अर्घाखाँचीडट्कम
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नं. -१० सुवर्णखालको बर्रे पधेरा भन्ने स्थानमा प्रहरीले बेवारीसे अवस्थामा रहेका सालका काठ बरामद गरेको छ । यहाँ लामो समयदेखि काठ चोरी तस्करी बढेको छ ।
सुवर्णखालको बर्रे पधेरा भन्ने स्थानमा बुधवार अपरान्ह ३:३० बजे प्रहरीले बेवारीसे अवस्थामा ५८ पिस सालका चिरान काठ बरामद गरेको हो ।
स्थानिय व्यक्तिहरुले टेलिफोन मार्फत ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीलाई खवर गरे पश्चात उक्त स्थानमा ईलाका प्रहरी कार्यालय ठाडा अर्घाखाँचीबाट प्र.ना.नि. शालिकराम खनालको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिई गई सव-डिभिजन बन कार्यालय डोहोटे अर्घाखाँचीलाई खबर गरी सव-डिभिजन कार्यालयबाट स.ब.अ. मरिच कुमार लामा समेतको कर्मचारी टोलीले उक्त काठ बरामद गरेको थियो ।
उक्त चिरान साल जातका काठहरु नापी गर्दा जम्मा ३४ क्यू .फिट भएको र चिरान साल काठको अं. मुल्य रु ५०,०००।-(पचास हजार) मुल्याङ्कन गरी उक्त चिरान सालका काठहरु जनप्रतिनिधि तथा स्थानिय व्यक्तिहरुको रोहवरमा सव डिभिजन बन कार्यालय डोहोटेले मुचुल्का गरी सो स्थानबाट उठाई जिम्मा लगेको प्रहरीले बताएको छ ।
उक्त काठ को कस्ले सो स्थानमा राखेको हो भन्ने सम्वन्धमा खुल्न नआएको हुँदा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।