अमेरिकाले मोदेर्नाको खोपलाई पनि स्वीकृति दियो

अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोप पनि आपतकालीन रुपमा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको फाइनान्सियल टाइम्सलाई उद्धृत गरी समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिकाको नियामिक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले स्थानीय समय अनुसार बिहीबार राति मोदेर्नाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको स्रोतलाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले खबर प्रकाशित गरेको छ ।
यसअघि एफडिएले मोदेर्नालाई खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति प्रदान गर्ने प्रक्रियालाई अन्तिम रुप दिने क्रममा रहेको बताएको थियो ।
एफडिएको सल्लाहकार बोर्डका विज्ञहरुले सर्वसम्मत रुपमा मोदेर्नाको खोप सुरक्षित तथा प्रभावकारी रहेको भन्दै स्वीकृति प्रदान गर्न सुझाव दिएका थिए । त्यसपछि प्रक्रिया पूरा गरेर एफडिएले स्वीकृति दिने निर्णय गरिसकेको रोयटर्सले उल्लेख गरेको छ ।
यसअघि एफडिएले फाइजर–बायोएनटेकले विकास गरेको खोपलाई गएको हप्ता स्वीकृति प्रदान गरेको थियो । त्यसपछि अमेरिकाभर सो खोप जोखिममा रहेको समूहलाई पहिलो प्राथमिकतामा राखेर दिन थालिएको छ ।
कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा अहिलेसम्म एक करोड ७१ लाख ९८ हजार भन्दा धेरै व्यक्ति संक्रमित भइसकेका छन् । यस्तै कोभिड–१९ बाट तीन लाख १० हजार सात सय अमेरिकीको ज्यान गइसकेको छ । एजेन्सी