अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको सामना गर्ने गरी सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय परिपत्र अनुसार संसद् विघटनपछि पक्ष र विपक्षमा हुने आन्दोलन र प्रदर्शनलाई ध्यानमा राखेर अर्घाखाँचीमा पनि विशेष सुरक्षा नीति अपनाउन भनिएको छ ।
प्रदेश प्रहरीले प्रधान कार्यालयको परिपत्रलाई अर्घाखाँचीमा त्यसको जानकारी गराइसकेको छ ।
संसद् विघटनपछि प्रधानमन्त्रीको कदमको विरोधमा अर्घाखाँचीमा विरोध प्रदर्शन सुरु भइसकेको छ ।
प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको विरोध गर्दै नेकपाका दाहाल र नेपाल समूहका कार्यकर्ताहरु, कांग्रेस, राष्ट्रिय जनमोर्चाले प्रदर्शन गरिरहेका छन् ।