अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको प्रस्ताव विरुद्ध अर्घाखाँची जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का असन्तुष्ट पक्ष, नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, समाजवादी पार्टी लगायतले संयुक्त आन्दोलन गर्ने भएका छन् ।
काठमाडौंमा नेकपाका असन्तुष्ट पक्ष, काँग्रेसका शीर्ष नेताहरुले ओलीको कदमविरुद्ध संयुक्त रुपमा कानुनी उपचार खोज्ने र सडक आन्दोलनपनि सँगसँगै गर्ने निर्णय गरे अनुसार अर्घाखाँचीमा पनि संयुक्त आन्दोलन गर्ने भएका छन् ।
ओलीले चालेको असंवैधानिक, अलोकतान्त्रिक, निरकुंश, पच्छगामी, जनादेश र जनभावनाबिपरीत कदमको घोर भ्रत्र्सना गर्दै यसका विरुद्ध संयुक्तरुपमा कानुनी उपचार खोज्ने र सडक आन्दोलन पनि तताउने निर्णय नेकपाका असन्तुष्ट पक्ष, नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, समाजवादी पार्टी लगायतले गरेका छन् ।
अर्घाखाँचीमा को कुन खेमा
उता नेकपा अर्घाखाँचीमा अहिलेसम्म कुनै पनि नेता खुलेर बाहिर आएका छैनन् । टोपबहादुर रायमाझी ओली खेममा लागेको बताइएको छ । उनी आईतबार प्रधानमन्त्री ओलीसँगको छलफलमा सहभागीता थिए । साथै रायमाझीलाई सम्भावित मन्त्रीका दाबेदारका रुपमा समेत हेरिएको छ। आजको ओली इतरको बैठकमा नआएकाले रायमाझी ओलीकै कित्तामा गएका हुन् भन्ने अनुमान समेत छ। रायमाझी ओलीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर पनि गरेका छैनन् ।
चेत नारायण आचार्य, रामजी प्रसाद घिमिरे पनि ओलीसँगको खेमा रहेको बताइएको छ। यस्तै चन्द्र बहादुर खड्का प्रचण्ड- नेपाल खेमामा रहेको अनुमान गरिएको छ ।
यस्तै ठाकुर कुमार विक, प्रेम नारायण गैरे लगायतका युवा नेताहरु प्रचण्ड- नेपाल खेमामा रहेको अनुमान गरिएको छ । उता पितम्बर भुसाल लगायतका नेताहरु ओलीसँगको खेमा रहेको बताइएको छ।
तर समग्रमा जिल्लाका अन्य नेकपाका नेताहरु अहिलेसम्म खुलेर बाहिर आउन सकेका छैनन् । पर्ख र हेरौको अवस्थामा रहेका छन्न।
उता आईतबार संसद विघटन विरुद्ध सदरमुकाम सन्धिखर्कमा प्रदर्शन भएको छ । नेकपाका असन्तुष्ट पक्ष, नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा लगायत विभिन्न पार्टीमा आस्था राख्ने विधार्थी नेता र अन्य कार्यकर्ताको सहभागी विरोध प्रदर्शन भएको हो ।