प्रचण्ड–नेपाल समूहका ११४ सांसदद्धारा तत्काल संसद् बैठक बोलाउन माग

 प्रचण्ड-नेपाल समर्थित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ।
सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको छ।
‘नेपालको संविधानमा भएको प्रतिनिधिसभा विघटन गर्न नसकिने स्पष्ट व्यवस्थाको विपरीत प्रधानमन्त्रीले जनमतको अपमान हुने तथा देशलाई अनिश्चयको भूमरीतर्फ धकेल्ने गरी गरेको प्रतिनिधिसभाको विघटनको सिफारिसलाई संविधानको संरक्षण गर्नुपर्ने संवैधानिक कर्तव्य भएका राष्ट्रपतिसमेत त्यसतर्फ संवेदनशील नरहेकोप्रति यो संसदीय दल विरोध गर्दछ र उहाँको कार्यलाई अस्वीकार गर्दछ,’ पारित प्रस्तावमा भनिएको छ,‘संविधान बमोजिम संसद्को अधिवेशन बोलाउनुपर्ने समय भइसकेकाले संसदको अधिवेशन अबिलम्ब आह्वान गर्न यो बैठक माग गर्दछ।’
अहिलेको संविधानअनुसार संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको उनीहरुको निष्कर्ष छ ।
“नेपालको संविधान बमोजिम प्रतिनिधिसभालाई विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई रहेको छैन । प्रधानमन्त्रीको प्रतिनिधिसभाको कथित विघटन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अस्वीकार गर्दै प्रतिनिधिसभाको नियमित कार्य अघि बढाइनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ,” निर्णयमा भनिएको छ । सेतोपाटीमा समाचार छ ।