अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गरेसँगै विभाजन घोषणा हुन बाँकी रहेको नेकपाको प्रभाव अर्घाखाँची जिल्लामा पनि परेको छ । अर्घाखाँचीमा ओली पक्षीयको बहुमत देखिएको छ । भने प्रचण्ड-नेपाल पक्षीय कमोजोर देखिएको छ ।
टोपबहादुर रायमाझी ओली खेमामा खुलेर लागेसँगै अर्घाखाँचीमा पनि जोड्घटाऊ शुरु भएको छ । नेकपा जिल्ला कमिटीको बहुमत संख्या ओली पक्षमा देखिएको छ । जसमा टोपबहादुर रायमाझीसँगै चन्द्र बहादुर खड्का, चेत नारायण आचार्य, रामजी घिमिरे, नरेन्द्र छेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल, लक्ष्मण रायमाझी, पितम्बर भुसाल लगायतका नेताहरु ओलीसँगको खेमा लागेका छन् ।
यस्तै दुमान सिंह थापा क्षेत्री, डिलाराम आचार्य, ठाकुर कुमार विक, प्रेम नारायण गैरे लगायतको सानो समुह प्रचण्ड-नेपाल पक्षमा देखिएको छ ।
अर्घाखाँचीमा यतिबेला ओली खेमा र प्रचण्ड-नेपाल पक्षीय जिल्ला नेताहरु आफ्नो आफ्नो पक्षमा पार्न दौडधुप जारी राखेका छन् ।
उता काठमाडौंमा बालुवाटारमा सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा केन्द्रीय कमिटी बैठकमा पूर्व माओवादीतर्फका नेता टोपवहादुर रायमाझी सहभागी भएका थिए । रायमाझीले नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले अनैतिक काम गरेकाले उनको साथ छोडेको बताएका छन् । ओली गुटको केन्द्रीय कमिटी बैठकमा पुगेका नेता रायमाझीले प्रचण्डले अनैतिक काम गरेकै कारण विश्वास गर्न नसककेकाले उनीसँग सहकार्य तोडिएको बताएका हुन् ।
अर्घाखाँचीका ८ जनालाई केन्द्रीय सदस्यमा मनोनयन
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहका अर्घाखाँचीका ८ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्।
ओलीको अध्यक्षतामा बसेको उनको समूहको केन्द्रीय कमिटीको बैठकले विस्तार गरेको कमिटीमा अर्घाखाँचीबाट ८ जना केन्द्रीय सदस्य थपिएका हुन्।
थपिएका केन्द्रीय सदस्यमा चेतनारायण आचार्य, चन्द्रबहादुर खड्का, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल र लक्ष्मण रायमाझी रहेका छन्।
ओलीले मंगलबार बालुवाटारमा आफ्नो गुटको केन्द्रीय कमिटी बैठक बोलाएर केन्द्रीय कमिटी ११९९ सदस्यमा विस्तार गरेका छन्। यसअघि नेकपा केन्द्रीय कमिटी ४४७ जनाको थियो।