श्याम घिमिरे, अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अर्घाखाँचीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक अर्घाखाँचीका प्रतिनिधि नारायण भुसालले एक वर्षको अवधिमा जिल्लामा सङ्कलित घटनाहरू प्रस्तुत गर्नु भएको थियो । भुसालले एक वर्षको अवधिमा अर्घाखाँचीमा बाल यौन दुर्व्यहारका ८ , महिला बलात्कारका २ , जातीय विभेदको १, हत्याको १, घरेलु हिंसाका ६६ ,बहुबिबाहका २, आत्महत्या दुरत्सानका ४ ,सम्पति क्षेतीका २ ,गिरफ्तारका ३ वटा गरी ८९ वटा घटना प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी ईन्सपेक्टर सुजन शाहले लुकेका घटनाहरूलाई बाहिर ल्याउन सरोकारवाला निकायले सहयोग गर्न आग्रह गर्नुभयो । शाहले मानव अधिकारको बिषय प्राथमिकताको बिषय भएको पनि बताउनु भयो ।
कार्यक्रममा जिल्ला कारागार अर्घाखाँचीका प्रमुख नुमलाल पन्थी ,पत्रकार महासंघका उपाध्यक्ष गणेश खनाल,पत्रकार श्याम घिमिरे,अन्तरपार्टी महिला सन्जालकी सुशिला गैरे, नेपाल बाल संगठनका अध्यक्ष कुलबहादुर नेपाली,राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेश सदस्य कमला परीयार,पत्रकार अनिल नेपाली,सागर महत लगायतले मनतब्य राख्दै इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तक एउटा ईतिहास भएको र जसका कारण सरकारी गैरसरकारी निकायहरूको नजरमा विश्वनीय रहेको बताउदै यसको निरन्तरताको लागि शुभ कामना दिनु भएको थियो ।