अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा कोरोना भाईरस (कोभिड- १९) को खोपका लागि शिक्षक कर्मचारीको यकिन विवरण संकलन शुरु गरिने भएको छ ।
शिक्षा तथा मानव श्रोत विकास केन्द्रले अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, मालारानी, पाणिनी गाउँपालिका, र छत्रदेव गाउँपालिकाका शिक्षा शाखालाई परिपत्र गरे अनुसार शिक्षक कर्मचारीको यकिन विवरण संकलन शुरु गरिने भएको हो ।
खोपका लागि शिक्षकलाई कुन प्राथमिकतामा राख्ने भन्ने तय हुन बाँकी नै रहे पनि विवरण संकलनको काम शुरु गर्न लागिएको जनाएको छ ।
स्वास्थ्य सेवा विभागले मन्त्रालयसँग सामुदायिक र संस्थागत शिक्षण संस्थामा कार्यरत सम्पूर्ण शिक्षकको नामावली पठाउन गरेको पत्राचार अनुसार केन्द्रले उक्त प्रकृया शुरु गरेको हो । सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, बालविकास सहयोगी कार्यकर्ता देखि संस्थागत विद्यालयको मन्टेसरी स्तर सम्मकै शिक्षक कर्मचारीको विवरण पठाउन केन्द्रले ढाँचा सहित पत्राचार गरेको हो ।
जिल्लामा शिक्षक कर्मचारीको नाम, संकेत नम्बर, फोन नम्बर, विद्यालयको नाम, पद, तह, नियुक्ति मिति सहितको विवरण संकलन गर्न भनिएको छ ।
अर्घाखाँची जिल्लामा आजसम्म संक्रमितको संख्या ७३६ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ३५२ जना, शितगंगा नगरपालिकामा १०६, भूमिकास्थान नगरपालिकामा १३१, मालारानीमा ७९, पाणिनी गाउँपालिकामा ३०, र छत्रदेव गाउँपालिकामा ३८ जना संक्रमित रहेका छन् ।
यस्तै जिल्लाबाट आजसम्म ६७९ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा सन्धिखर्क नगरपालिकामा ३२३ जना, शितगंगा नगरपालिकामा १०१, भूमिकास्थान नगरपालिकामा १२६, मालारानीमा ७७, पाणिनी गाउँपालिकामा १९ र छत्रदेव गाउँपालिकामा ३३ जनाले कोरोनालाई जितेका हुन् ।
जिल्लामा कोरोनाका कारण १२ जनाको निधन भएको छ ।
जिल्लाका बिभिन्न स्थानका आईसोलेशनमा ४५ जना सक्रिय संक्रमितहरु उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।